पूरन र प्रेराकको शानदार प्रदर्शनमा लखनउले हैदरावादलाई ७ विकेटले हरायो
काठमाडौंँ । आईपीएल २०२३ को ५८ औं खेलमा लखनउले हैदरावादलाई पराजित गरेको छ । शनिबार हैदराबादको राजीव गान्धी स्टेडियममा भएको खेलमा एसआरएचले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो । जवाफमा लखनउको टोलीले १९.२ ओभरमा ३ विकेटको क्षतिमा १८५ रन बनाएर खेल ७ विकेटले जित्यो । जारी सिजन एलएसजीको यो छैटौं जित हो।
१८३ रनको लक्ष्य पछ्याएको लखनउले औसत सुरुआत गर्यो। एलएसजीको पहिलो विकेट चौथो ओभरको दोस्रो बलमा खसेको थियो । ओपनर काइल मेयर्सले १४ बलमा २ रन मात्र बनाउन सके । उनलाई ग्लेन फिलिप्सले मार्करामको हातमा क्याच आउट गराए । त्यसपछि क्विन्टन डिकक र प्रेराक मार्कण्डले दोस्रो विकेटका लागि ४२ रनको साझेदारी गरे। लखनउलाई ९ औं ओभरको दोस्रो बलमा अर्को झटका लाग्यो । डिककलाई मयङ्क मार्कडेले अभिषेक शर्माको हातबाट क्याच आउट गराए। लखनउका ओपनरले १९ बलमा २९ रन बनाए ।
लखनउको तेस्रो विकेट १६ औं ओभरको तेस्रो बलमा खसेको थियो । मार्कस स्टोइनिस २५ बलमा ४० रन बनाएर क्याच आउट भए । हैदरावादलाई अभिषेक शर्माले तेस्रो सफलता दिलाए । प्रेराक मार्कण्डले ४५ बलमा ६४ र निकोलस पूरन १३ बलमा ४४ रन बनाएर अविजित रहे । फिलिप्स, मयंक मार्कण्डे र अभिषेक शर्माले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको हैदरावादको सुरुवात खासै राम्रो भएन । तेस्रो ओभरको पहिलो बलमा युधवीर सिंह चरकले अभिषेक शर्मालाई क्विन्टन डी ककको हातमा क्याच आउट गराए। शर्माले ५ बलमा ७ रन बनाए । पावरप्लेको अन्तिम ओभरमा राहुल त्रिपाठी प्याभिलियन फर्किए । उनले १३ बलमा २० रन बनाए । त्रिपाठी र अनमोलबीच दोस्रो विकेटका लागि ३७ रनको साझेदारी भयो । त्यसपछि ९ औं ओभर अनुभवी स्पिनर अमित मिश्राले गरे । उनले ५ औं बलमा ओपनर अनमोल प्रीत सिंहलाई कट एण्ड बोल्ड गरे । अनमोलले २७ बलमा ३६ रनको इनिङ खेले ।
हैदरावादका कप्तान एडेन मार्कराम १३ औं ओभरको पहिलो बलमा आउट भए । लखनउका कप्तान क्रुणाल पाण्ड्याले उनको विकेट लिए । मार्करामले २० बलमा २८ रनको इनिङ खेले । अर्को बलमा पाण्ड्याले हैदरावादलाई पाँचौं झटका दिए। उनले ग्लेन फिलिप्सलाई बोल्ड गरे। हैदरावादले ११५ रनको स्कोरमा ५ विकेट गुमाएको थियो । टोलीका लागि हेनरिक क्लासेन र अब्दुल समदले छैटौं विकेटका लागि ५८ रनको साझेदारी गरे। क्लासेन १९ औं ओभरको अन्तिम बलमा क्याच आउट भए । उनले २९ बलमा ४७ रन बनाए । समदले २५ बलमा ३७ रन बनाए भने भुवनेश्वर कुमारले खाता नखोलेर अविजित रहे ।

टिप्पणी लेख्नुहोस्