लेख विवरण

पेलेको अवस्था नाजुक, विश्वभरबाट स्वास्थ्य लाभको कामना

पेलेको अवस्था नाजुक, विश्वभरबाट स्वास्थ्य लाभको कामना

काठमाडौं । फुटबल इतिहासका महान् खेलाडीमध्ये एक तथा ब्राजिलका पूर्व स्ट्राइकर पेलेको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । एक रिपोर्टका अनुसार क्यान्सर उपचारका लागि चलिरहेको केमोथेरापीले उनलाई असर गर्न छोडेको छ । त्यसपछि प्यालिएटिभ केयरमा राखेर उनको निगरानी भइरहेको छ । यसैबीच, विश्वभरका फुटबलर र फ्यानहरूले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

८२ वर्षीय पेले गत मंगलबार अस्पताल भर्ना भएका थिए । सुरुवातमा उनको स्वास्थ्य अवस्था सामान्य रहेको परिवार स्रोतले जनाएको थियो । उनको ट्युमर हटाएर केमोथेरापी सुरु गरेको अस्पतालले जनाएको थियो । त्यसपछि साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उनको श्वासप्रश्वासमा एक्कासी समस्या आएपछि उनलाई प्यालिएटिभ केयरमा राखिएको जनाइएको छ ।

एक रिपोर्टमा केमोथेरापीले उनको शरीरमा सोचे जस्तो काम गर्न नसकेको बताइएको छ । उनको शरीरले केमोथेरापीलाई कुनै पनि हिसाबले प्रतिक्रिया दिइरहेको छैन। त्यसकारण अस्पतालले अर्को उपाय अपनाउदै उनलाई प्यालिएटिभ केयरमा राखेको छ।

ब्राजिललाई सन् १९५८, १९६२ र १९७० को विश्वकप जिताउन पेलेले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले राष्ट्रिय टोलीका लागि ९२ खेलमा ७७ गोल गरेका छन् । उनी ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

विश्वकपको बिचमा आएको यो खबरले अहिले सबैलाई चिन्तित बनाएको छ । पेलेको सिघ्र स्वास्थ लागि फुटबल फ्यान र खेलाडीहरुले प्रार्थना गरिरहेका छन् । फ्रान्सका स्टार खेलाडी केलियन एमबाप्पेले एक ट्वीट गर्दै पेलेको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.