पोन्टिङ र विराटलाई उछिन्दै स्टिभ स्मिथले बनाए किर्तिमान
काठमाडौँ । भारत र अष्ट्रेलियाबीच विश्व टेष्ट च्याम्पियनसिप फाइनल खेल लण्डनको ओभल क्रिकेट ग्राउण्डमा जारी छ । खेलको पहिलो दिन अस्ट्रेलियाली ब्याट्सम्यान ट्रेभिस हेडले शानदार शतक बनाएपछि दोस्रो दिनको पहिलो सेसनमा स्टिभ स्मिथले शतक पूरा गरे । यो शतकसँगै स्मिथले आफ्नो नाममा धेरै किर्तिमानहरु बनाएका छन् । यो सँगै उनले रिकी पोन्टिङ, विराट कोहलीजस्ता ब्याट्सम्यानलाई पछि पारेका छन् ।
स्मिथले २ सय ६८ बलमा १ सय २१ रन बनाए । यस क्रममा उनको ब्याटबाट १९ चौका प्रहार भयो । यो शतकसँगै उनले रिकी पोन्टिङ र विराट कोहलीको रेकर्ड तोडेका छन् । भारत र अस्ट्रेलियाबीच भएको टेस्ट खेलमा अहिलेसम्मकै सर्वाधिक शतक बनाउने खेलाडीको सूचीमा उनी दोस्रो स्थानमा छन् । उनले अहिलेसम्म ९ शतक प्रहार गरेका छन् । विराट कोहली र अस्ट्रेलियाका रिकी पोन्टिङले ८–८ शतक बनाएका छन् ।
भारत र अष्ट्रेलियाबीचको टेस्ट खेलमा अहिलेसम्म सबैभन्दा धेरै शतक प्रहार गर्ने खेलाडी मास्टर ब्लास्टर सचिन तेन्दुलकर हुन् । उनले ११ शतक बनाएका छन् । यसपछि स्टिभ स्मिथले ९ शतक बनाएका छन् । विराट कोहली, सुनील गावस्कर र रिकी पोन्टिङले ८–८ शतक बनाएका छन् । स्टिभ स्मिथले भारतविरुद्धको सबै फर्म्याटमा कुल १४ शतक बनाएका छन् ।
स्मिथले शतक प्रहार गर्नेबित्तिकै भारतीय कप्तान तथा ब्याट्सम्यान रोहित शर्माको रेकर्ड बराबरी गरेका छन् । आइसिसीको नकआउट खेलमा उनको यो दोस्रो शतक हो । यसअघि उनले सन् २०१५ को विश्वकपको सेमिफाइनलमा भारतविरुद्ध शतक प्रहार गरेका थिए । आइसिसीको नकआउट खेलमा उनले सर्वाधिक शतक बनाउने मामिलामा रोहित शर्माको बराबरी गरेका छन् । दुवैको नाममा दुई शतक छ । यो सूचीको शीर्ष स्थानमा भारतका पूर्व ब्याट्सम्यान सौरव गांगुली, अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङ र पाकिस्तानका सइद अनवर छन् । तीनै जनाको नाममा ३–३ शतक छ ।

टिप्पणी लेख्नुहोस्