पौडीमा नासिरले स्वर्ण जित्दै बनाए नयाँ कीर्तिमान
काठमाडौं । नेपाली सेनाका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तरग भएको २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा आफ्नो नाममा रहेको कीर्तिमानमा सुधार गरेका छन ।
नासिरले शनिबार १५ सय मिटिर फ्रिस्टाइलमा १३औं दक्षिण एशियाली खेलकुद (साग)मा कायम गरेको १७ मिनट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनट ५०.२१ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन ।
यसका साथै उनले नवौं राष्ट्रिय खेलकुदमा पौडीतर्फ पहिलो स्वर्ण पदक पनि जितेका छन । दोस्रो भएका एनआरएनका आशिष सापकोटाले पनि नासिरले दक्षिण एशियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिन्नेका छन । सापकोटाले १६ मिनट ५७.९५ को समयमा दूरी पार गरेका थिए । पुलिसका सुनिल कुमार थापाले कांस्य जिते ।
यसैगरी महिलामा सेनाकी डुवाना लामाले पनि आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भइन । दुई सय मिटर ब्यक्तिगत मिड्लेतर्फ गौरिका सिंहले नेपालगंजमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको २ मिनट ३२ सेकेन्डको समयलाई पछि पार्दै लामाले २ मिनट ३१.४६ सेकेन्डको नयाँ समयको कीर्तिमान कायम गरिन । यो उनले हिट चरणमा कायम गरेकी हुन ।

टिप्पणी लेख्नुहोस्