लेख विवरण

प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा काभ्रेबाट दुई सय २० खेलाडी सहभागी हुँदै

प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा काभ्रेबाट दुई सय २० खेलाडी सहभागी हुँदै

बनेपा । दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्नका लागि काभ्रेपलाञ्चोक जिल्लाबाट विभिन्न विधाका गरी दुई सय २० खेलाडीले सहभागिता जनाउने भएका छन् ।

आगामी जेठ ७ गतेदेखि १३ गतेसम्म हुने प्रतियोगिताका लागि छनोट भएका विभिन्न विधाका खेलाडीलाई जिल्ला खेलकुद विकास समितिले प्रमाणपत्र वितरणसहित आज बिदाइ गरेको हो ।

विभिन्न १३ विधामा हुने खेल प्रतियोगिताका लागि जिल्लामा विधागत खेलको प्रतिस्पर्धाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि काभ्रेपलाञ्चोकबाट भलिबलमा २०, फुटबलमा ३२, कराँतेमा २१, डब्लु टि एफ तेक्वान्दोमा २२, क्रिकेटमा १४, बक्सिङमा १९, ब्याडमिन्टनमा छ, एथलेटिक्समा २७, रग्बीमा १२, जुडोमा सात, उसुमा १०, आइ टि एफ तेक्वान्दोमा २५ र पौडीमा पाँच जना छनोट भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

खेलाडीलाई बिदाइ गर्दै बागमती प्रदेशसभा सदस्य रुक्कु चौलागाईंले युवामा खेलप्रतिको उत्साह बढेको बताए । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराले आमनागरिकलाई हौसला प्रदान गरे पनि जीवन नै खेल क्षेत्रमा समर्पित गर्दै राष्ट्रलाई चिनाउन लागिपरेका खेलाडीका लागि राज्यले महत्त्वका साथ लिन नसकेको उनले बताए । उनले धेरै समस्याका बाबजुद पनि भविष्य देखेर निरन्तर लागिरहने खेलाडीको वृत्ति विकास र उत्साह पैदा गर्न आइपरेको समस्या हल गर्न बनाउनुपर्ने नीतिगत र व्यवस्थापकीय कामको समाधानका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताए ।

बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले छनोट भएर प्रदेशस्तरमा प्रतिस्पर्धाका लागि बिदाइ भएका खेलाडीलाई विजयीको अग्रिम शुभकामना व्यक्त गर्दै जिल्लाको नाम राख्नेगरी खेल्न आग्रह गरे ।

जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकका अध्यक्ष मानवीर लामाले प्रदेशस्तरमा हुन लागेको प्रतियोगिताका लागि छनोट भएका खेलाडीलाई प्रमाणपत्र वितरण तथा बिदाइ गर्दै उत्कृष्ट खेल प्रदर्शनका लागि सफलताको शुभकामना व्यक्त गरे । सो क्रममा जिल्लाबाट सहभागी खेलाडी, प्रशिक्षक र व्यवस्थापकको जिम्मेवारीसहित गरेर दुई सय ४९ जनालाई आज बिदाइ गरिएको छ ।

बागमती प्रदेश खेलकुद परिषद्ले आगामी जेठ ७ गतेदेखि हुने प्रतियोगितामा उसु, जुडो र पौडी खेलको प्रतियोगिता काठमाडौँमा गर्ने, क्रिकेट चितवनमा र बाँकी सबै खेल मकवानपुर जिल्लामा नै गर्ने तयारी गरेको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.