लेख विवरण

प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनी प्रदेश विजयी

प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनी प्रदेश विजयी

काठमाडौं । प्रदेश १ माथि ३९ रनको जित निकालेको लुम्बिनी प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल सम्भावना जीवितै राखेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा समूह ‘बी’ को चौथो खेलसँगै लुम्बिनी सेमिफाइनल प्रवेशका लागि अन्य टोलीको नतिजामा भर पर्ने पक्का भएको हो। लुम्बिनीको समूह ‘बी’ मा चार खेलबाट चार अङ्क रहेको छ र तेस्रो स्थानमा छ। दुई खेल कम खेलेको मधेस प्रदेश चार अङ्कसहित दोस्रो स्थानमा छ।

यो समूहबाट अन्तिम चारमा मधेसको बलियो सम्भावना रहेको छ। उसले बाँकी खेल जिते सिधै सेमिफाइनलमा पुग्नेछ। चार खेलबाट दुई अङ्क जोडेको प्रदेश १ र बिना अङ्क तालिकाको पुछारमा रहेको बागमती प्रदेश भने समूह चरणबाट बाहिरिसकेका छन्। तीनखेलबाट शतप्रतिशत जितसहित नेपाल पुलिस क्लब एक खेल अघि नै अन्तिम चारमा प्रवेश गरिसकेको छ।

लुम्बिनी प्रदेशले दिएको दुई सय ९१ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ४६ ओभरमा सबै विकेट गुमाएर २ सय ५१ रन मात्र बनाउन सक्यो। जवाफी ब्याटिङ गरेको प्रदेश १ का लागि दुई खेलाडीले अर्धशतकीय इनिङ खेल पनि टोलीको हार टार्न सकेनन्।

कप्तान सिद्धान्त लोहनीले ६० बलमा १० चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ७४ रन बनाउँदा ओपनर अङ्कित सुवेदीले ४८ बलमा १० चौकासहित ५२ रनको पारी खेले। बलिङतर्फ लुम्बिनीका दुर्गेश गुप्ता, बसिर अहमद र देव खनालले समान दुई दुई विकेट लिए। यस्तै, नरेश नेपाली, अनिल खरेल र तुलबहादुर थापाले समान एक विकेट हात पारे।

यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले पुरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा २ सय ९० रन बनाएको थियो। लुम्बिनीका कप्तान देवले ९८ बलमा ११ चौका मद्दतमा ८९ रन बनाए।

आकाश त्रिपाठीले ४५ रन जोड्दा सन्दीप रिजालले ४४, विशाल विक्रम केसीले ३२ तथा कृष्ण कार्कीले ३१ रनको व्यक्तिगत स्कोर बनाए। बलिङतर्फ प्रदेश १ का लागि दीपक जोशीले सर्वाधिक चार विकेट निकाल्दा श्रवण यादवले दुई तथा लुभ कामतले १ विकेट हात पारे।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.