प्रभसिमरनको शतकमा पञ्जाबले दिल्लीलाई दियो १६८ रनको लक्ष्य
काठमाडौंँ । आईपीएल २०२३ को ५९ औं खेल दिल्लीको अरुण जेटली स्टेडियममा जारी छ । दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीचको खेलमा डेभिड वार्नरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । टोलीका लागि प्रभसिमरन सिंहले शतक प्रहार गरे । अब दिल्लीले जितका लागि १६८ रन बनाउनु पर्नेछ।
टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सको सुरुवात निकै खराब रह्यो । दोस्रो ओभरको दोस्रो बलमा इशान्त शर्माले पञ्जाबका कप्तान शिखर धवनलाई रुसोको हातमा क्याच आउट गराए । धवनले ५ बलमा ७ रन बनाए । त्यसपछि ५ औं ओभरको पहिलो बलमा इशान्त शर्माले पञ्जाबलाई दोस्रो झटका दिए । उनले लियाम लिभिङस्टोनलाई बोल्ड गरे । लिभिङस्टोनले ५ बलमा ४ रनको इनिङ खेले ।
अर्को ओभरमा अक्षर पटेलले दिल्लीलाई तेस्रो सफलता दिलाए। उनले विकेटकिपर ब्याट्सम्यान जितेश शर्मालाई बोल्ड गरे । शर्माले ५ बलमा ५ रन बनाए । पावरप्लेमा पञ्जाबको तीन विकेट खसेको थियो । त्यसपछि प्रभसिमरन सिंह र साम करनबीच चौथो विकेटका लागि ७२ रनको साझेदारी भयो । १५ औं ओभरमा करण क्याच आउट भए । उनले २४ बलमा २० रन बनाए । प्रवीण दुबेले दिल्लीलाई सफलता दिलाए । त्यसपछि १७ औं ओभरको पहिलो बलमा हरप्रीत ब्रार प्याभिलियन फर्किए । उनले ५ बलमा २ रन बनाए । कुलदीप यादवले दिल्लीलाई पाँचौं सफलता दिलाए ।
सेन्चुरियन प्रभसिमरन सिंह १९ औं ओभरको दोस्रो बलमा आउट भए । उनले ६५ बलमा १०३ रन बनाए । आफ्नो इनिङ्समा उनले १० चौका र ६ छक्का प्रहार गरेका थिए । उनलाई मुकेश कुमारले बोल्ड गरे । शाहरुख खान २ रनमा रनआउट भए । सिकन्दर रजा ७ बलमा ११ रन बनाएर अविजित रहे ।

टिप्पणी लेख्नुहोस्