प्रभसिमरन र हरप्रीतको उत्कृष्ट प्रदर्शनमा पञ्जाबले दिल्लीलाई हरायो
काठमाडौंँ । आईपीएल २०२३ को ५९ औँ खेलमा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई ३१ रनले पराजित गरेको छ । शनिबार दिल्लीको अरुण जेटली स्टेडियममा भएको खेलमा डेभिड वार्नरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । टोलीका लागि प्रभसिमरन सिंहले शतक प्रहार गरे । जवाफमा दिल्लीको टोलीले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्रै बनायो र पञ्जाब ३१ रनले विजयी भयो ।
१६८ रनको लक्ष्य पछ्याएको दिल्लीले उत्कृष्ट सुरुवात गरेको थियो । टोलीले पावरप्लेमा कुनैपनि विकेट गुमाएन । त्यसपछि पञ्जाबका स्पिनर दिल्लीको टाउको दुखाई बन्यो । दिल्लीलाई पहिलो झटका ७ औं ओभरको दोस्रो बलमा लाग्यो । पञ्जाबका हरप्रीत ब्रारले ओपनर फिलिप साल्टलाई बोल्ड गरे । साल्टले १७ बलमा २१ रन बनाए । अर्को ओभरको दोस्रो बलमा राहुलले मिचेल मार्सलाई एलबीडब्ल्यू आउट गरेका थिए। मार्सले ४ बलमा ३ रन बनाए ।
दिल्लीको तेस्रो विकेट ९औं ओभरको पहिलो बलमै खसेको थियो । हरप्रीत ब्रारले रिले रोसोलाई रजाको हातमा क्याच आउट गराए।रोसाभले ५ बलमा ५ रन बनाए । यो ओभरको अन्तिम बलमा ब्रारले पञ्जाबलाई चौथो सफलता दिलाए । उनले डेभिड वार्नरलाई एलबीडब्ल्यू आउट गरेका थिए । दिल्लीका कप्तानले २७ बलमा ५४ रनको इनिङ खेले। यस क्रममा उनले १० चौका र १ छक्का प्रहार गरे ।
१० औं ओभरको पहिलो बलमा राहुल चाहरले अक्षर पटेललाई प्याभिलियनको बाटो देखाएका थिए । चाहरले पटेललाई एलबीडब्ल्यू आउट गरे । यी अलराउन्डरले २ बलमा १ रन बनाए । त्यसपछि ११ औं ओभरको पहिलो बलमा दिल्लीको अर्को विकेट पनि खसेको थियो । मनिष पाण्डेलाई हरप्रित ब्रारले बोल्ड गरेका थिए । ३ बल सामना गरेका पाण्डेले खाता पनि खोल्न सकेनन् । १६ औं ओभरको चौथो बलमा अमन खान क्याच आउट भए । उनले १८ बलमा १६ रन बनाए । १८ औं ओभरको दोस्रो बलमा प्रवीण दुबेलाई नाथन एलिसले बोल्ड गरे । दुबेले २० बलमा १६ रन बनाए । अन्तमा मुकेश ६ र कुलदीप यादवले १० रनमा अविजित रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादको सुरुवात निकै खराब रह्यो । दोस्रो ओभरको दोस्रो बलमा इशान्त शर्माले पञ्जाबका कप्तान शिखर धवनलाई रुसोको हातमा क्याच आउट गराए । धवनले ५ बलमा ७ रन बनाए । ५ औं ओभरको पहिलो बलमा इशान्तले हैदरावादलाई दोस्रो झटका दिए । उनले लियाम लिभिङस्टोनलाई बोल्ड गरे । लिभिङस्टोनले ५ बलमा ४ रनको इनिङ खेले । अर्को ओभरमा अक्षर पटेलले दिल्लीलाई तेस्रो सफलता दिलाए। उनले विकेटकिपर ब्याट्सम्यान जितेश शर्मालाई बोल्ड गरे । शर्माले ५ बलमा ५ रन बनाए ।
१५ औं ओभरमा करण क्याच आउट भए । उनले २४ बलमा २० रन बनाए । प्रवीण दुबेले दिल्लीलाई सफलता दिलाए । त्यसपछि १७ औं ओभरको पहिलो बलमा हरप्रीत ब्रार प्याभिलियन फर्किए । उनले ५ बलमा २ रन बनाए । कुलदीप यादवले दिल्लीलाई पाँचौं सफलता दिलाए । १९ औं ओभरको दोस्रो बलमा प्रभसिमरन सिंह आउट भए । यी ओपनरले ६५ बलमा १०३ रन बनाए । उनलाई मुकेश कुमारले बोल्ड गरे । शाहरुख खान २ रनमा रनआउट भए । सिकन्दर रजा ७ बलमा ११ रन बनाएर अविजित रहे । पञ्जाबका लागि प्रभसिमरन सिंहले शतक प्रहार गरे । बलिङमा हरप्रित ब्रारले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्