लेख विवरण

फास्ट बलर वहाब रियाज बने खेलकुद मन्त्री

फास्ट बलर वहाब रियाज बने खेलकुद मन्त्री

काठमाडौंँ । पाकिस्तानमा क्रिकेट र राजनीतिबीचको सम्बन्धले अर्को नयाँ उम्मेदवारलाई उभ्याएको छ। पाकिस्तानी फास्ट बलर वहाब रियाजलाई पञ्जाब (पाकिस्तान) को कार्यवाहक खेलकुद मन्त्री नियुक्त गरिएको छ। बंगलादेश प्रिमियर लिगमा खुल्ना टाइगर्सबाट खेल्दै आएका वहाबले स्वदेश फर्किएपछि सपथ लिनेछन् ।

पाकिस्तानमा नयाँ पार्टीको सरकार बनेपछि क्रिकेट बोर्डमा धेरै परिवर्तनहरू भएका छन् र यो पनि ती परिवर्तनहरूमध्ये एक भएको मानिन्छ। हालै रमिज राजालाई पाकिस्तान क्रिकेट बोर्डको अध्यक्ष पदबाट हटाइएको थियो । उनको स्थानमा नजम सेठीलाई अध्यक्ष बनाइएको छ ।

अब पाकिस्तान सुपर लिगमा वहाब सहभागिता बारे कुनै आधिकारिक धारणा आएको छैन। यद्यपि पीएसएलमा उनको सहभागिता लगभग निश्चित छ । उनको नियुक्तिलाई पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले सूचित गरेका थिए।

वहाब पेशावर जाल्मीबाट खेल्छन् र टोलीको कप्तानी पनि गर्छन्। जाल्मीले उनलाई डायमण्ड श्रेणीमा राखेको थियो । यसअघि उनी पिएसएलको प्लेटिनम श्रेणीमा रहेका थिए ।

उनी पीएसएलमा सर्वाधिक (१०३) विकेट लिने खेलाडी हुन्। ३७ वर्षीय वहाबले अन्तिम पटक पाकिस्तानका लागि सन् २०२० मा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। उनले अन्तर्राष्ट्रिय स्तरमा २७ टेस्ट, ९१ एकदिवसीय र ३६ टी(२० खेल खेलेका छन्। उनले सबै फर्म्याटमा कुल २३७ विकेट लिएका छन् ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.