लेख विवरण

फिक्सिङको आरोपमा वेस्ट इन्डिजका ब्याट्सम्यान निलम्बन

फिक्सिङको आरोपमा वेस्ट इन्डिजका ब्याट्सम्यान निलम्बन

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले वेस्ट इन्डिजका ब्याट्सम्यान डेभोन थोमसलाई सन् २०२१ को लङ्का प्रिमियर लिग (एलपिएल) मा म्याच फिक्सिङ गर्ने षडयन्त्र गरेको र सोही वर्ष अन्य दुई फ्रेन्चाइज प्रतियोगितामा भ्रष्टाचार गरेको आरोपमा निलम्बन गरेको छ । सन् २०२२ को अगष्टमा वेस्ट इन्डिजका लागि अन्तिम पटक खेलेका थोमसमाथी आइसिसीको एन्टी करप्सन कोडअन्तर्गत सात वटा अभियोग लगाइएको छ ।

दुबईमा युएईविरुद्धको एकदिवसीय शृंखलाका लागि उनलाई टोलीमा समावेश गरिएको थियो । फिक्सिङको आरोपबाहेक ३३ वर्षीय थोमसमाथि अबुधाबी टी–१० लिग र क्यारेबियन प्रिमियर लिगमा सट्टेबाजले उनलाई सम्पर्क गर्न खोजेको विवरण उपलब्ध नगराएको आरोप पनि लागेको छ । थोमसलाई जवाफ दिन १४ दिनको समय दिइएको छ ।

"श्रीलंका क्रिकेट, इमिरेट्स क्रिकेट बोर्ड र क्यारेबियन प्रिमियर लिगका तर्फबाट अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले वेस्ट इन्डिजका खेलाडी डेभोन थोमसलाई भ्रष्टाचार विरोधी संहिताअन्तर्गत सात वटा अभियोगमा मुद्दा चलाएको छ," आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। उनलाई तत्कालप्रभावबाट निलम्बन गरिएको छ ।

आइसिसीले सोधपुछका क्रममा थोमसले भ्रष्टाचार विरोधी अधिकारीलाई सहयोग नगरेको पनि दाबी गरेको छ । थोमसले वेस्ट इन्डिजका लागि एक टेस्ट, २१ एकदिवसीय र १२ टी–२० खेलेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.