फिफा विश्वकपको फाइनल खेल अर्जेन्टिना र पोर्चुगलबीच हुने सुपर कम्प्युटरको भविष्यवाणी
काठमाडौं । फिफा विश्वकप फुटबलको सुरुवात नोभेम्बर २० बाट कतारमा हुँदैछ । डिसेम्बर १८ सम्म चल्ने यस प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ । सन् १९३० मा सुरु भएको प्रतियोगिताको यो २२ औं संस्करण हो ।
विश्वका दुई महान् फुटबलर अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले सम्भवतः यस पटक अन्तिम विश्वकप खेल्ने छन् । दुवैले अहिलेसम्म एकपटक पनि आफ्नो टोलीलाई विश्वकप च्याम्पियन बनाउन सकेका छैनन् । यसपटक सबैको नजर यी दुई खेलाडी तिर हुनेछ ।
यसैबीच प्रतियोगिता सुरुहुनु २४ दिनअघि विश्व कपको बारेमा सुपर कम्प्युटरले ठूलो भविष्यवाणी गरेको छ । कम्प्युटरका अनुसार यसपटकको विश्व कप फाइनल खेल लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना र क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलबीच हुनेछ । यो खेलमा अर्जेन्टिनाले पोर्चुगललाई हराएर च्याम्पियन बन्नेछ । साथै मेस्सी आफ्नो करियरको अन्तिम विश्वकपमा पहिलो पटक च्याम्पियन बन्ने भएका छन् ।
बीसीए रिसर्चले सुपर कम्प्युटरमार्फत यो प्रयोग गरेको हो । उपलब्ध तथ्यांकका आधारमा सुपर कम्प्युटरले अर्जेन्टिनाको जितको भविष्यवाणी गरेको छ । यदि यो सत्य सावित भयो भने, रोनाल्डो आफ्नो कट्टर प्रतिद्वन्द्वी मेस्सीसँग उपाधि खेलमा पराजित हुनेछन्। पोर्चुगल कहिल्यै विश्वकपको फाइनलमा पुग्न सकेको छैन, तर यसपटक प्रशिक्षक फर्नान्डो सान्तोसको टोलीले उपलब्धि हासिल गर्ने अनुमान गरिएको छ ।
सुपर कम्प्यूटरका अनुसार इंग्ल्याण्डको टोली फेरि एकपटक फिफा विश्वकपको सेमिफाइनलमा पुग्ने छ । यसपटक इंग्ल्याण्डले पोर्चुगलसँग पेनाल्टी सुटआउटमा हार बेहोर्नुपर्नेछ । पछिल्लो पटकको विश्वकपमा इंग्ल्याण्ड क्रोएसियासँग पराजित भएको थियो । सन् २००६ मा पोर्चुगलले इंग्ल्याण्डलाई क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा हराएको थियो ।
प्रक्षेपण अनुसार इङ्ल्यान्डले इरान, वेल्स र अमेरिकालाई पछि पार्दै समूह बीको शीर्ष स्थानमा रहनेछ । इङ्ल्यान्डले इरानविरुद्धको पहिलो खेल जित्ने सम्भावना ८४ प्रतिशत रहेको छ। उही समयमा, यो संख्या अमेरिका विरुद्ध ५४ प्रतिशत र वेल्स विरुद्ध ७७ प्रतिशत रहेको छ। इंग्ल्याण्डले प्रि-क्वार्टरफाइनल सेनेगलसँग र क्वाटरफाइनल मेक्सिकोसँग खेल्नेछ।
सुपर कम्प्युटरका अनुसार डिफेन्डिङ च्याम्पियन फ्रान्स समूह ‘डी’ को दोस्रो स्थानमा रहनेछ । प्रि-क्वार्टरफाइनलमा फ्रान्स फेरी अर्जेन्टिनासँग भिड्ने भएपनि यसपटक हार ब्योहोर्ने छ । पछिल्लो पटकको विश्वकपमा अर्जेन्टिनाको टोली प्रि-क्वार्टरफाइनलमा फ्रान्ससँग पराजित भएको थियो।

टिप्पणी लेख्नुहोस्