लेख विवरण

फुटबलर देवकोटाको उपचारमा आर्थिक सहयोग

फुटबलर देवकोटाको उपचारमा आर्थिक सहयोग

कास्की । बगर भाइखलक पोखराले फुटबलर अञ्जन देवकोटाको उपचारका लागि रु एक लाख आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका–१ निवासी फुटबल खेलाडी देवकोटालाई आज आयोजित एक कार्यक्रमकाबीच सो सहयोग रकम प्रदान गरिएको हो ।

देवकोटा दमौलीमा खेलका क्रममा बायाँ घुँडामा चोट लागेर घाइते भएका थिए । उनको शल्यक्रियाका लागि सो सहयोग गरिएको भाइखलकका सदस्य ईश्वर (चन्द्र) गुरुङले जानकारी दिए ।

सहयोग रकम हस्तान्तरण गर्दै गुरुङले देवकोटाको उपचारका लागि सहयोगको खाँचो रहेको बताए । उनले भने, “सामान्य उपचारले मात्रै नहुने भएपछि आर्थिक सहयोग गरेका हौँ, यो सहयोग रकम यथेष्ट नभए पनि केही सघाउ पुग्नेछ ।”

सहयोग पाएपछि देवकोटाले बगर भाइखलकप्रति आभार व्यक्त गरे । आफ्नो उपचारका लागि बगर भाइखलकसँगै अन्य विभिन्न व्यक्तित्वहरूले समेत सहयोग प्रदान गरिरहेको जानकारी दिँदै सफल शल्यक्रियापछि फेरि खेलमा फर्किनेमा उनले विश्वास व्यक्त गरे ।

उनले भने, “मेरो शल्यक्रिया सफल भइसकेपछि चिकित्सकको सल्लाह, सुझावअनुसार म केही महिनाको ‘बेडरेष्ट’मा हुनेछु । पूर्णरूपमा ठिक भएपछि फेरि मैदानमा फर्किएर खेल जीवनलाई निरन्तरता दिने योजनामा छु ।” फुटबलर देवकोटा विभिन्न प्रतिष्ठित क्लबबाट फुटबल प्रतियोगिता खेल्दै आएका छन ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.