फ्रान्सका किर्तिमानी फुटबलर जस्ट फन्टेनको निधन
काठमाडौंँ । फ्रान्सका महान फुटबल खेलाडी जस्ट फन्टेनको ८९ बर्षको उमेरमा बुधबार निधन भएको छ । सन् १९५८ विश्वकपमा बनाएको कीर्तिमानका लागि उनलाई सम्झिने गरिन्छ। फन्टेनले स्विडेन विश्वकपमा सर्वाधिक १३ गोल गरेका थिए । त्यसयता एउटै विश्वकपमा यति धेरै गोल भएका छैनन् । उनको ६५ वर्ष पुरानो कीर्तिमान आज पनि कायमै छ ।
फ्रान्सको रेम्स क्लबबाट खेलेका फन्टेनले एउटा मात्र विश्वकप खेल्न पाएका थिए । उनले ६ खेलमा १३ गोल गरेका थिए । तीन खेलाडीले फन्टेनलाई विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको रूपमा उछिनेका छन्, तर कसैले पनि एउटै विश्वकपमा यो किर्तिमान बनाउन सकेका छैनन्। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतार विश्वकपमा फन्टेनको किर्तिमान बराबरी गरे तर उनले पाँच विश्वकप खेलेर मात्र १३ गोल गरे ।
सन् १९५८ को विश्वकप महान फुटबलर पेलेको सम्झनामा छ । उनले सेमिफाइनलमा फ्रान्सविरुद्ध ५–२ को जितमा ह्याट्रिक गर्दा ब्राजिलला च्याम्पियन बनेको थियो। त्यतिबेला पेले १७ वर्षका थिए । पेलेको शानदार प्रदर्शनले फन्टेनको चमत्कारी प्रदर्शनलाई ओझेलमा पार्यो, तर उनको किर्तिमान अझै कायमै छ।

टिप्पणी लेख्नुहोस्