फ्रान्स पराजित भएपछि बेन्जेमाले लिए सन्यास
काठमाडौं । रियल मड्रिडका कप्तान करिम बेन्जेमाले कतार विश्वकप २०२२ को अन्त्यपछि अन्तर्राष्ट्रिय फुटबललाई अलविदा गरेका छन् । फिफा विश्वकपमा फ्रान्स पराजित भएपछि बेन्जेमाले यो निर्णय लिएका हुन् । फ्रान्सका स्ट्राइकर बेन्जेमा चोटका कारण यस पटकको विश्वकपमा सहभागी हुन सकेनन् । बेन्जेमाले आज आफ्नो ३५ औं जन्मदिनको अवसरमा यो घोषणा गरेका हुन् ।
बेन्जेमाले ट्विट गर्दै लेखे, ‘मैले आज जहाँ छु, त्यहाँ पुग्ने प्रयास गरेँ र गल्ती गरें । मलाई यसमा गर्व छ! मैले मेरो कथा लेखेको छु र कथाको अन्त्य हुँदैछ।' बेन्जेमाले फ्रान्सका लागि कुल ९७ खेल खेले जसमा उनले ३७ गोल र २० गोलमा असिस्ट गरेका छन ।
अर्जेन्टिना र फ्रान्सबीचको खेलअघि करिम बेन्जेमाले राष्ट्रपति इमानुएल म्याक्रोनको निमन्त्रणा अस्वीकार गरेको खबर आएको थियो । त्यसपछि उनले इन्स्टाग्राममा एक तस्बिर पोस्ट गर्दै, ‘मलाई कुनै रुचि छैन' लेखेका थिए ।
टोलीको पराजयपछि उनको यो निर्णयले फ्यानलाई आश्चर्यमा पारेको छ । फ्रान्स विश्वकप जित्न असफल भएको छ । योसँगै अर्जेन्टिनाले ३६ वर्षपछि उपाधि जितेको छ । अर्जेन्टिनाको जितसँगै कप्तान लियोनल मेस्सीको विश्वकप जित्ने सपना पनि पूरा भएको छ ।

टिप्पणी लेख्नुहोस्