लेख विवरण

फ्रेन्चाइजी लिगका लागि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

फ्रेन्चाइजी लिगका लागि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । दक्षिण अफ्रिकाका अलराउन्डर ड्वेन प्रिटोरियसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३३ वर्षिय प्रिटोरियसले ६ वर्षअघि सन् २०१६ मा दक्षिण अफ्रिकाका लागि डेब्यु गरेका थिए । तर उनले अचानक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएर फ्रेन्चाइजी क्रिकेटमा ध्यान दिने निर्णय गरेका छन् ।

प्रिटोरियसले सोमबार इन्स्टाग्राम मार्फत आफ्नो निर्णयको बारेमा जानकारी गराएका छन् । उनले आफ्नो करियर र परिवारबीच राम्रो सन्तुलन कायम गर्नका लागि फ्रेन्चाइज क्रिकेटमा बढी ध्यान केन्द्रित गर्न चाहेको बताए ।

प्रिटोरियसले लेखेका छन्, ‘म आफ्नो पूरा ध्यान टी–२० र छोटो फर्म्याटको क्रिकेटमा दिन चाहन्छु र अब म स्वतन्त्र भएर आफ्नो लक्ष्यलाई अझ राम्रोसँग हासिल गर्न सक्छु । उनले पोस्ट मार्फत टोलीका साथी, प्रशंसक, प्रशिक्षक र परिवारलाई धन्यवाद दिएका छन्। योसँगै उनले पूर्व कप्तान फाफ डुप्लेसिसलाई अन्तर्राष्ट्रिय क्रिकेटमा फर्केकोमा विशेष धन्यवाद दिएका छन् ।

प्रिटोरियस केही समयदेखि लगातार दक्षिण अफ्रिकी टोलीमा रहेका थिए । सन् २०१९ को एकदिवसीय विश्वकप बाहेक उनी युएईमा भएको टी–२० विश्वकपमा पनि टोलीमा थिए । उनले पहिलो पटक सन् २०१६ मा आयरल्याण्डविरुद्धको एकदिवसीय खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। त्यसपछि उनी तीनवटै ढाँचाको क्रिकेटमा विशेष गरी सीमित ओभरमा दक्षिण अफ्रिकी टोलीको सदस्य रहे ।

प्रिटोरियसले दक्षिण अफ्रिकाका लागि ३० टी–२०, २७ एकदिवसीय र ३ टेस्ट खेलेका छन । यस अवधिमा उनले कुल १ हजार ८ सय ९५ रन बनाउदै ७७ विकेट लिएका छन। सीमित ओभरको क्रिकेटमा उनले पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रिटोरियसले सन् २०२१ मा भएको टी–२० खेलमा पाकिस्तानविरुद्ध १७ खर्चेर ५ विकेट लिएका थिए जुन टि–२० क्रिकेटमा दक्षिण अफ्रिकाको उत्कृष्ट प्रदर्शन हो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.