फ्रेन्च लिग वान : पीएसजीले लिलेलाई ५–१ गोलले हरायो
एजेन्सी । सुपर स्टार लियोनल मेस्सी चम्किएपछि फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिलेमाथि सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लिलेलाई उसैको मैदानमा ५–१ गोलले हरायो ।
पीएसजीको जितमा ड्यानिलो पेरेइराले दुई गोल गरे । प्रेसनेल किमपेम्वे, लियोनल मेस्सी र केलियन एमबाप्पेले एक एक गोल गरे । लिलेका स्भेन बोटमानले सान्त्वना गोल फर्काए ।
पीएसजीले १०औँ मिनेटमा ड्यानिलो पेरेइराको गोलबाट अग्रता लिएको थियो । २८औँ मिनेटमा लिलेका स्भेन बोटमानले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यसपछि ३२औँ मिनेटमा प्रेसनेल किमपेम्वेले मेस्सीको पासमा गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाए । ३८औँ मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा थप बलियो बनाए । ५१औँ मिनेटमा पेरेइराले व्यक्तिगत दोस्रो गर्दै पीएसजीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ६७औँ मिनेटमा केलियन एमबाप्पेले गोल गरेपछि पीएसजीले फराकिलो जित नकालेको थियो ।
जितसँगै शीर्षटोली पीएसजीले शीर्षस्थानमा १३ अंकको अग्रता बनाएको छ । पीएसजीको २३ खेलबाट ५६ अंक पुगेको छ । पराजित लिले ३२ अंक सहित ११औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको मार्सेलीको ४३ अंक छ ।

टिप्पणी लेख्नुहोस्