बंगलादेशका लागि एकदिवसीयमा ३ सय विकेट लिने पहिलो खेलाडी बने शकिब
काठमाडौंँ । शकिब अल हसन एकदिवसीय क्रिकेटमा ३ सय विकेट लिने पहिलो बंगलादेशी बलर बनेका छन् । उनले इङ्ल्यान्डविरुद्धको तेस्रो एकदिवसीयमा रेहान अहमदको विकेट लिएर यो उपलब्धि हासिल गरेका हुन् ।
साथै उनी एकदिवसीय क्रिकेटमा ६ हजार भन्दा बढी रन बनाउने र ३ सय भन्दा बढी विकेट लिने तेस्रो अलराउन्डर बनेका छन्। यसअघि यो किर्तिमान सनथ जयसूर्या र शाहिद अफ्रिदीले बनाएका थिए । ड्यानियल भेटोरी र जयसूर्यापछि यो उपलब्धि हासिल गर्ने शाकिब तेस्रो बायाँ हाते स्पिनर बनेका छन् ।
शकिबले आफ्नो पहिलो एकदिवसीय विकेट सन् २००६ मा जिम्बाब्वे विरुद्ध एल्टन चिगुम्बुरालाई आउट गर्दै लिएका थिए । सन् २०१० को एसिया कपमा असद शफिक एकदिवसीय क्रिकेटमा शकिबको सयौं शिकार बने । सन् २०१५ मा हासिम अमलालाई आउट गरेर उनले आफ्नो २०० औं विकेट लिएका थिए ।
शकिबले सन् २०२१ मा आफ्नो २७० औं विकेट लिने बित्तिकै मशरफे मोर्तजा (२६९) लाई पछि पार्दै बंगलादेशका लागि सर्वाधिक विकेट लिने खेलाडी बने।
यसका अतिरिक्त, शकिबले बंगलादेशका लागि टेस्ट र टी(२० अन्तर्राष्ट्रियमा क्रमशः २३१ र १२८ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको किर्तिमान बनाइसकेका छन । हाल उनी टी–२० मा ४ सय ४३ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पाँचौं नम्बरमा छन् । अर्को अनौठो कीर्तिमानको कुरा गर्दा शाकिब टी–२० मा ६ हजार रन, ४ सय विकेट र ५० क्याच लिने दुई खेलाडीमध्ये एक हुन् ।

टिप्पणी लेख्नुहोस्