बलियो नेपाल कप : पोखरालाई हराउदै कर्णाली फाईनलमा
पोखरा । बलियो नेपाल न्यूट्रिसन इनिसियटिभको आयोजनामा पोखरामा जारी ‘बलियो नेपाल कप–अण्डर १९’ क्रिकेट प्रतियोगितामा कर्णाली एकेडमीले पोखरा क्रिकेट एकेडमीलाई पराजित गर्दै फाईनल प्रवेश गरेको छ ।
पोखरा रङ्गशाला क्रिकेट मैदानमा आज (सोमवार) भएको खेलमा कर्णालीले पोखरालाई ५ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ८९ रन बनाएको थियो । टोलीका लागि ओपनरद्धय सोहिल कुँवर र विज्ञान पाण्डेले क्रमशः २८ र २१ रन बनाए । यी बाहेक पोखराका अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन । टोलीले अतिरिक्तको रुपमा २० रन पायो । कर्णालीका लागि आदित्य शाह र भरत क्षेत्रीले २–२ विकेट लिए । बिपिन प्रसाद शर्मा, विराट भण्डारी र लक्की बमले समान १–१ विकेट लिए ।
पोखराले दिएको ९० रनको लक्ष्य कर्णालीले १८ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । टोलीको जितमा मनिष थापाले सर्वाधिक २२ रनको योगदान दिए । विराट भण्डारी (१०), रोशन शाही (९), खेमराज खड्का र लक्की बमले समान ८–८ रन बनाए । आदित्य शाह १५ बलमा २० रन बनाएर अविजित रहे । पोखराका लागि नितेश गिरिले २ विकेट लिदा मनिष गैरे र सोहिल कुँवरले १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच कर्णालीका आदित्य शाह भए ।
जितसँगै फाईनलमा पुगेको कर्णालीले उपाधि भिडन्तका लागि स्टार क्रिकेट एकेडमीसँग प्रतिस्पर्धा गर्नेछ । स्टारले हिजो भएको क्वालिफायर खेलमा कर्णालीलाई २८ रनले पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५० हजार र द्वितीय हुने टोलीलाई रु २५ हजारसहित ट्रफी र मेडल पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा ‘म्यान अफ दी सिरिज’ घोषित एक जना खेलाडीलाई नगद रु १० हजारसहित ट्रफी तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलर एक/एक जनालाई नगद रु सातरसात हजार र इमर्जिङ प्लेयरलाई नगद रु पाँच हजारसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी र पल्सर क्रिकेट एक्सिलेन्स सेन्टरले सहभागिता जनाएका छन् ।

टिप्पणी लेख्नुहोस्