लेख विवरण

बलियो नेपाल कप : पोखरा र कर्णाली क्रिकेट एकेडमी विजयी

बलियो नेपाल कप : पोखरा र कर्णाली क्रिकेट एकेडमी विजयी

काठमाडौंँ । बलियो नेपाल न्यूट्रिसन इनिसियटिभको आयोजनामा पोखरामा जारी ‘बलियो नेपाल कप–अण्डर १९’ क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको पहिलो दिनको खेलमा पोखरा क्रिकेट एकेडेमी र कर्णाली क्रिकेट एकेडेमी विजयी भएका छन् ।

पोखरा रङ्गशाला क्रिकेट मैदानमा बुधवार (आज) भएको खेलमा पोखराले जनकपुर क्रिकेट एकेडमीलाई ६ विकेट तथा कर्णालीले पल्सर क्रिकेट एक्सिलेन्स सेन्टरलाई १० रनले हरायो ।


पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको कर्णाली क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३४ रन बनायो । टोलीका लागि विराट भण्डारीले अर्धसतक प्रहार गर्दै ५९ रनको योगदान दिए । ५२ बलको सामना गरेका उनले ४ चौंका र ४ छक्का प्रहार गरे । खेमराज खड्काले ४९ बलमा ४९ रन बनाए । मनिष थापा (९) र रोशन शाहीले (७) रन बनाउदा आदित्य बिक्रम शाह १ रनमा अविजित रहे । सिइसीका लागि बलिङमा दयानन्द मण्डलले ४ विकेट लिए ।

कर्णालीले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याउने क्रममा सिइसीको टोली १८.५ ओभरमा १ सय २४ रन बनाउदै अलआउट भयो । टोलीका लागि सन्दीप बिष्टले सर्वाधिक ३७ रन बनाए । बिपिन न्यौपाने (२०) र रोशन साउदले (१६) बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् । कर्णालीका लागि बलिङमा लक्की बम र विराट भण्डारीले २-२ विकेट लिए । भरत क्षेत्री, बिपिन प्रसाद शर्मा, आदित्य बिक्रम शाह र दिप पौंडेलले समान १-१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच कर्णालीका विराट भण्डारी भए ।

आजै भएको दोस्रो खेलमा पोखरा क्रिकेट एकेडमीले जनकपुर क्रिकेट एकेडमीलाई ६ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय १ रन बनायो । टोलीका लागि रोशन कुमार यादवले सर्वाधिक २५ रन बनाए । साजन कुमार यादवले १२ रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन । पोखराका लागि बलिङमा प्रदिप आर्यालले सर्वाधिक ३ विकेट लिए । नितेश गिरि, सिबरिन श्रेष्ठ र समिर भुजेलले समान २-२ विकेट लिए । नितिन छन्तया्लको नाममा एक विकेट रह्यो ।

जनकपुरले दिएको १ सय २ रनको लक्ष्य पोखराले १७ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो । टोलीको जितमा सिबरिन श्रेष्ठले २१ बलमा २७ रनको अविजित पारी खेले । ओपनर सोहिल कुँवरले पनि समान २७ रन बनाए । सफल श्रेष्ठ (१९) र विज्ञान पाण्डेले (१०) रन बनाए । रोहित चन्द ६ रनमा अविजित रहे । जनकपुरका लागि बलिङमा अखिल स्वर्णले २ तथा रोहन यादव र राजेश कुमार दाशले समान १-१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच पोखराका सिबरिन श्रेष्ठ भए ।

प्रतियोगितामा इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी र पल्सर क्रिकेट एक्सिलेन्स सेन्टरले सहभागिता जनाउने नेपाल न्यूट्रिसन इनिसियटिभका वित्त तथा प्रशासन व्यवस्थापक प्रकाश बख्रेलले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५० हजार र द्वितीय हुने टोलीलाई रु २५ हजारसहित ट्रफी र मेडल पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा ‘म्यान अफ दी सिरिज’ घोषित एक जना खेलाडीलाई नगद रु १० हजारसहित ट्रफी तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलर एक÷एक जनालाई नगद रु सात/सात हजार र इमर्जिङ प्लेयरलाई नगद रु पाँच हजारसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.