बलियो नेपाल कप : स्टार क्रिकेट एकेडमी विजयी
पोखरा । पोखरामा जारी ‘बलियो नेपाल कप–अण्डर १९’ क्रिकेट प्रतियोगितामा स्टार क्रिकेट एकेडमी र पोखरा क्रिकेट एकेडमी विजयी भएका छन ।
पोखरा रङ्गशाला क्रिकेट मैदानमा आज (शनीवार) भएको पहिलो खेलमा स्टार क्रिकेट एकेडमी कर्णाली एकेडमीलाई २८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको स्टारले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ४० रन बनायो । टोलीका लागि अमर मिश्राले अर्धसतकीय पारी खेल्दै सर्वाधिक ५७ रन बनाए । ४२ बलको सामना गरेका मिश्राले ४ चौंका र ३ छक्का प्रहार गरे । सन्तोष यादव र विप्रसन केसीले समान १४–१४ रन बनाउदा बिक्रम सिंहले ११ रन बनाए । कर्णालीका लागि लक्की बम र बिपिन प्रसाद शर्माले समान ३–३ विकेट लिए । आदित्य शाहले २ विकेट लिए ।
स्टारले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीको टोली २० ओभरमा अलआउट हुँदै १ सय १२ रनमा सिमित भयो । टोलीका लागि विराट भण्डारीले सर्वाधिक ४२ रन बनाए । रोशन शाहीले १२ रन बनाउदा बिपिन क्षेत्री १७ रनमा अविजित रहे । स्टारका लागि विप्रसन केसीले ४ ओभरमा १८ रन खर्चदै सर्वाधिक ३ विकेट लिए । महेश भार र सुरज खड्काले समान १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच स्टारका अमित मिश्रा भए ।
यसैगरी शनिबार नै सम्पन्न अर्को खेलमा पोखरा क्रिकेट एकेडेमीले पल्सर क्रिकेट एक्सीलेन्स सेन्टरमाथि ८७ रनको जित निकाल्यो ।
प्रतियोगितामा इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी र पल्सर क्रिकेट एक्सिलेन्स सेन्टरले सहभागिता जनाएका छन ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५० हजार र द्वितीय हुने टोलीलाई रु २५ हजारसहित ट्रफी र मेडल पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा ‘म्यान अफ दी सिरिज’ घोषित एक जना खेलाडीलाई नगद रु १० हजारसहित ट्रफी तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलर एकरएक जनालाई नगद रु सातरसात हजार र इमर्जिङ प्लेयरलाई नगद रु पाँच हजारसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्