लेख विवरण

बिग बास लिगमा सिड्नी थन्डर मात्र १५ रनमा अलआउट

बिग बास लिगमा सिड्नी थन्डर मात्र १५ रनमा अलआउट

काठमाडौं । बिग बास लिगमा सिड्नी थन्डर मात्र १५ रनमा अलआउट भएको छ । टी–२० क्रिकेटको इतिहासमा यो अहिलेसम्मकै कम स्कोर हो । १ सय ४० रनको लक्ष्य पछ्याएको थन्डरका लागि ब्रेन्डन डगेटले ४ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दुई वा तीन भन्दा बढी रन बनाउन सकेनन् ।

शुक्रबार एडिलेड स्ट्राइकर्स र सिड्नी थन्डरबीच भएको खेलमा पहिले ब्याटिङ गरेको एडिलेडले १४० रन बनाएको थियो । जवाफमा सिड्नी थन्डरका ब्याट्सम्यान ३५ बलको सामना गर्दै अलआउट भयो । सिड्नी थन्डरका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एडिलेडका हेनरी थोरन्टनले तीन रन दिएर पाँच विकेट लिए । वेस अगरले ६ रन दिएर चार विकेट लिए । सिड्नी थन्डर मात्र ५.५ ओभरमा १५ रनमा अलआउट भई १२४ रनले पराजित भयो। बिग बास लिगको इतिहासमा यसअघि मेलबर्न रेनेगेड्सले सबैभन्दा कम (५७ रन) बनाएको थियो ।

थन्डरका पाँच खेलाडी शून्य रनमा आउट भए । टोलीका एक मात्र खेलाडीले ४ रन बनाउदा अर्कोले ३ रन बनाए । थन्डरका एक खेलाडीले २ रन बनाउदा तीन खेलाडीले १ रन मात्र बनाउन सके ।

त्यसअघि एडिलेड स्ट्राइकर्सले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । टोलीका लागि क्रिस लिनले २७ बलमा ३६ रन बनाए । फजलहक फारुकीले प्रभावशाली बलिङ गर्दै २० रन दिएर ३ विकेट लिए । एक समयमा सिड्नी थन्डरले खेलमा पकड बनाएको थियो तर ब्याटिङको क्रममा टोली पावरप्लेसम्म पनि टिक्न सकेन।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.