बिस्ब्रेन टेस्ट : पहिलो इनिङ्समा दक्षिण अफ्रिका १५२ रनमै रोकियो
काठमाडौं । अष्ट्रेलिया विरुद्ध तीन टेस्ट सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिका पहिलो इनिङ्समा १५२ रनमै समेटिएको छ । सिरिजको पहिलो खेलमा टस जितेर फिल्डिङ गरेको अस्ट्रेलियाका लागि मिचेल स्टार्क र नाथन लियोनले ३–३ विकेट लिए । टोलीले टी ब्रेकअघि नै दक्षिण अफ्रिकालाई अलआउट बनायो । अफ्रिकी टोलीका तर्फबाट काइल भेरेनले सर्वाधिक ६४ रन बनाए ।
दक्षिण अफ्रिकाको सुरुवात खराब रह्यो । २७ रनमै टोलीका चार ब्याट्सम्यान प्याभिलियन फर्किए । दक्षिण अफ्रिकाले १२ रन बनाउदा टोलीका कप्तान तथा ओपनर डीन एल्गर मात्र ३ रनको व्यक्तिगत स्कोरमा आउट भए । त्यसपछि ब्याटिङमा आएका रेस भान डेर ड्युसेन पनि २७ रन बनाएर आउट भए । लगतै अर्का ओपनर सरल इरवे १० रनको व्यक्तिगत स्कोरमा प्याभिलियन फर्किए । सोही क्रममा खाया जोन्डो पनि खाता नखोलेर प्याभिलियन फर्किए । यसरी दक्षिण अफ्रिकाले २७ रन बनाउदा टोलीका ३ खेलाडी आउट भए ।
त्यसपछि दक्षिण अफ्रिकाको इनिङ्सलाई टेम्बा बाभुमा र काइल भेरेनले सम्हाल्ने प्रयास गरे । यी दुईबीच ९८ रनको साझेदारी भयो । भेरेनले ९६ बलमा ६४ र बाभुमाले ७० बलमा ३८ रन बनाए । यी दुई आउट भएपछि क्रिजमा अन्य खेलाडीहरु टिक्न सकेनन् । टोलीका ७ ब्याट्सम्यान दोहरो अंकमा रन नबनाइ आउट भए ।
अस्ट्रेलियाका लागि नाथन लियोन र मिचेल स्टार्कले उत्कृष्ट बलिङ गरे । नाथनले ८ ओभरमा १४ रन दिएर ३ विकेट लिए । त्यस्तै मिचेल स्टार्कले १४ ओभरमा ४१ रन दिएर ३ विकेट लिए । यी दुई बाहेक प्याट कमिन्सले ३५ रनमा २ र स्कट बोल्याण्डले २८ रनमा २ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्