बीसीसीआईद्धारा आईपीएलअघि नयाँ आदेश जारी
काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएलको १५ औं सिजन अघि फ्रेन्चाइज टोलीको लागि नयाँ आदेश जारी गरेको छ । बोर्डले सबै १० टोलीलाई मार्च ८ देखि मुम्बईमा भेला हुन आग्रह गरेको छ। त्यसपछि सबै टोलीहरू एकै समयमा बायो बबलमा प्रवेश गर्नेछन्। बायो बबल प्रवेश गर्नुअघि भारतीय खेलाडीहरुले तीन दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ। विदेशी खेलाडीहरूको लागि पाँच दिनको क्वारेन्टाइन छुटयाइएको छ । प्रतियोगिताका लागि टोलीहरुले मार्च १४–१५ देखि प्रशिक्षण सुरु गर्नेछन्।
समाचार एजेन्सी एएनएका अनुसार टोलीका खेलाडीहरुले मार्च १४–१५ देखि अभ्यास सुरु गर्नेछन् । आईपीएलका लागि खेलाडी र सपोर्ट स्टाफहरु मार्च ८ तारिखदेखी मुम्बई आउन सुरु गर्नेछन्। आइपिएल २०२२ सिजनको खेलहरु मार्च २६ गतेदेखि सुरु हुनेछ । फाइनल खेल मई २९ मा खेलाइने छ । प्रतियोगिताका लिग राउन्डका ७० खेलहरू मुम्बई र पुणेका चार रंगशालामा खेलिनेछ।
स्रोतका अनुसार बायो बबलमा प्रवेश गर्नुअघि खेलाडीहरू क्वारेन्टाइनमा बस्नु पर्नेछ । सबै खेलाडीहरूले मुम्बई जानुभन्दा ४८ घण्टाअघि आरटी पीसीआर परीक्षण गर्नुपर्नेछ। अलग्गै रहँदा पनि उनीहरुले तीन पटक आरटी पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ। रिपोर्ट नकारात्मक आएपछि मात्र उनीहरूलाई अभ्यास गर्न दिइनेछ।

टिप्पणी लेख्नुहोस्