बीसीसीआईद्धारा एकदिवसीय विश्वकपका लागि २० खेलाडी छनोट
काठमाडौं । बीसीसीआईले यस वर्ष हुने ५० ओभरको एकदिवसीय विश्वकप क्रिकेटका लागि खेलाडी छनोट गरेको छ । आइतबार बसेको बैठकले सम्भावित २० खेलाडी छनोट गरेको छ । छनोट भएका खेलाडीहरुलाई रोटेशन नीति अन्तर्गत मौका दिइने बीसीसीआईले जनाएको छ ।
करिब १२ वर्षपछि भारतले घरेलु मैदानमा एकदिवसीय विश्वकप आयोजना गर्दैछ । उसले सन् २०१३ यता कुनै पनि आईसीसी स्तरको प्रतियोगिता जित्न सकेको छैन। सन् २०१३ मा महेन्द्र सिंह धोनीको कप्तानीमा भारतले च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । यसअघि सन् २०११ मा धोनीकै कप्तानीमा ५० ओभरको विश्वकप जित्न सफल भएको थियो ।
छनोट भएका २० खेलाडीहरुबाट भारतले विश्वकप टोली तयार गर्नेछ । यी सबै खेलाडीलाई विश्वकप अघि खेलिने एकदिवसीय खेलमा रोटेसन नीति अन्तर्गत मौका दिइने भएको छ । यस अवधिमा प्रभावशाली प्रदर्शन गर्ने खेलाडीलाई टोलीमा छनोट गरिने बीसीसीआइले जनाएको छ । रोहित शर्मा, विराट कोहली, जसप्रीत बुमराह, हार्दिक पाण्ड्या र रविन्द्र जडेजा जस्ता खेलाडीको कुरा गर्दा उनीहरुको विश्वकप टोलीमा छनोट हुने पक्का जस्तै छ । तर त्यसबाहेकका केही खेलाडीले विश्वकप टोलीमा स्थान बनाउन निकै मिहिनेत गर्नुपर्ने देखिएको छ ।
बीसीसीआको समीक्षा बैठकमा सर्टलिस्ट भएका सम्भावित २० खेलाडीहरु : रोहित शर्मा (कप्तान), इशान किशन, शुभमन गिल/शिखर धवन, विराट कोहली, श्रेयस अय्यर, सूर्यकुमार यादव, ऋषभ पन्त, केएल राहुल, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, सञ्जु सैमसन, वाशिंगटन सुन्दर, युजवेन्द्र चहल, जसप्रीत बुमराह, कुलदीप यादव, मोहम्मद शामी, मोहम्मद सिराज, अर्शदीप सिंह, भुवनेश्वर कुमार र उमरान मलिक।

टिप्पणी लेख्नुहोस्