बेन स्टोक्सले सन्यास फिर्ता लिएर ओडीआई विश्वकप खेल्ने सम्भावना
काठमाडौं । इङ्ल्यान्ड क्रिकेटका अलराउन्डर बेन स्टोक्सले अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकपअघि एकदिवसीय क्रिकेटबाट सन्यास लिने आफ्नो निर्णय परिवर्तन गर्ने सम्भावना रहेको छ । उनले भर्खरै सम्मपन्न टी–२० विश्वकपको फाइनलमा इङ्ल्यान्डलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
स्टोक्सले टी–२० विश्वकपको फाइनलमा पाकिस्तानविरुद्ध ५३ रनको अविजित इनिङ खेलेका थिए । उनले सन् २०१९ को एकदिवसीय विश्वकप फाइनलमा पनि न्युजिल्यान्डविरुद्ध ९२ रनको अविजित पारी खेलेका थिए । इङ्ल्यान्ड टेष्ट टोलीका कप्तान स्टोक्सले यसै बर्ष एकदिवसीय क्रिकेटबाट अलविदा हुँदै तीनवटै ढाँचाको क्रिकेट खेल्न सम्भव नभएको बताएका थिए ।
इङ्ल्यान्ड टेस्ट टोलीका प्रशिक्षक म्याथ्यु मोटले बेन स्टोक्स सन्यास फिर्ता लिएर ओडीआई विश्वकप खेल्न सम्भावना रहेको बताएका छन । उनले भने, "जब स्टोक्सले मलाई एकदिवसीय क्रिकेटबाट अलविदा लिने बारेमा भने, मैले उनको हरेक निर्णयमा साथ दिने तर एकदिवसीय क्रिकेटबाट सन्यास लिनुपर्ने समय नआएको भनेको थिए । तर उनले चाहेको बेला आफ्नो निर्णय फिर्ता लिन पनि सक्छन ।"
म्याथ्युले भने, ‘यो निर्णय स्टोक्समाथी भर पर्ने हो । अर्को वर्ष एकदिवसीय विश्वकप हुन गइरहेको छ र हामी अहिले धेरै टी-२० क्रिकेट खेल्न चाहँदैनौं, तर यो उनको निर्णय गर्ने कुरा हो।" मोटले भने, "उनी हाम्रो लागि जति धेरै खेल्न सक्छन्, हामीलाई त्यति राम्रो हुन्छ। उनले टेस्ट कप्तानको रूपमा उत्कृष्ट गरिरहेका छन् । उनी तीनै विधाका खेलमा उत्कृष्ट प्रदर्शन सक्ने खेलाडी हुन् । उनी खेल जिताउन सक्ने माहिर खेलाडी पनि हुन् ।"

टिप्पणी लेख्नुहोस्