लेख विवरण

बैकुण्ठ मानन्धर दौडमा विश्व र अन्जु पहिलो

बैकुण्ठ मानन्धर दौडमा विश्व र अन्जु पहिलो

काठमाडौं । गणेश माविका विश्वराम कुँवर र गान्धी आदर्श माविकी अन्जु खड्का प्रथम बैकुण्ठ मानन्धर अन्तर माध्यमिक विद्यालय ५ किलोमिटर दौड प्रतियोगितामा शनिबार पहिलो भएका छन । विश्वराम छात्र र अन्जु छात्रामा पहिलो भएका हुन ।

शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघ र बैकुण्ठ मानन्धर खेलकुद नेपालको संयुक्त आयोजनामा भएको दौडमा विश्वले १७ मिनेट ३९.०९ सेकेन्डमा पूरा गरे । जनज्योति माविका अजय विक दोस्रो र अरनिको माविका सोनाम शेर्पा तेस्रो भए ।

अन्जुले निर्धारित दूरी २२ मिनेट १६.३६ सेकेन्डमा पूरा गरिन । पञ्चकन्या माविका सोनु घतानी दोस्रो र सरिता रम्तेल तेस्रो भए । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपियाँ पुरस्कार पाए ।

दशरथ रंगशालाबाट सुरु भएको दौड विभिन्न स्थान हुँदै दशरथ रंगशालामै आएर सकिएको थियो । दौडमा ८० विद्यालयमा दुई सय १३ खेलाडीले भाग लिएका थिए । विजेतालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, आयोजक संघका अध्यक्ष विवेन्द्रभक्त प्रधानाङ, कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलगायतले पुरस्कार प्रदान गरे ।

सोही अवसरमा हालै फ्रान्समा सम्पन्न विश्व अल्ट्रा दौड प्रतियोगितामा दोस्रो हुन सफल सुनमाया बुढालाई शान्ति निकुञ्ज सम्मान पत्रसहित एक लाख एक हजार एक सय रुपियाँ पुरस्कारसहित सम्मान गरिएको थियो । यस्तै एक वर्षमा चार वटा म्याराथन दौडेका शम्भुप्रसाद दाहाललाई पनि शान्ति निकुञ्ज सम्मान पत्रबाट सम्मान गरिएको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.