भरौल गोल्डकपको उपाधी प्लानिङ ब्वाइजलाई
सुनसरी । सुनसरीको बराहक्षेत्रमा सम्पन्न छैटौं संस्करणको अन्तराष्ट्रिय भरौल गोल्डकपको उपाधी बी डिभिजन क्लब प्लानिङ ब्वाइजले जितेको छ । बुधबार भएको फाइनलमा काठमाण्डौको अर्को बी डिभिजन क्लब ब्वाइज युनियनलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधी जितेको हो । बिजेता प्लानिङ ब्वाइजले नगद ४ लाख हात पारेको छ ।
उपबिजेतामा सिमित बनेको ब्वाइज युनियनले नगद २ लाखमा चित्त बुझाएको छ । निर्धारित समयमा दुबै टिमले एक एक गोलको बराबरी खेलेपछी खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको थियो ।
पेनाल्टीमा प्लानिङ ब्वाइजका पाँचै जना खेलाडीको प्रहार गोलमा परिणत हुदा ब्वाइज युनियनका चार जनाले मात्र गोल गर्न सके । प्लानिङका फागुराम थारु, बिशाल दर्जी, बिवश मगर, रोमन भुजेल र राजेश साहले गोल गरे ।
ब्वाइज युनियनका सुजित बुढाथोकी, साहिल राणा, बिवेक राई, मनोज श्रेष्ठले गोल गर्दा मनकुमार तामाङको प्रहार प्लानिङका किपर लोकेश चौधरीले रोके ।
त्यसअधि निर्धारित समयको पहिलो हाफको ३४ औं मिनेटमा म्यानअफ द म्याच फागुराम थारुले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । ब्वाइज युनियनका साहिल राणाले बिदेशी खेलाडी टिम्बालाई डि-बक्सभित्र लडाएपछी पाएको पेनाल्टी अवशरलाई थारुले खेर फालेनन ।
दोस्रो हाफको तेस्रो मिनेटमा ब्याइज युनियनका शुसान्त लामाले प्रहार गरेको थ्रीकीकले जाली चुमेपछी खेल बराबरीको अवस्थामा आयो । त्यसपछी दुबै टिमले गोल गर्न नसकेपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी ब्वाइज युनियनका सुशान्त लामा भए । उनले नगद २५ हजार पाए । रुपेश क्षेत्री उत्कृष्ट मिडफिल्डर घोषित भए । प्लानिङका लोकेश चौधरी उत्कृष्ट गोलकिपर, रिशब अधिकारी डिफेण्डर, प्रताप राणा स्टाइकर र सचिन्द्र धिमाल उत्कृष्ट कोच घोषित भए ।
उनीहरु सबैले जनही नगद १० हजार हात पारे । बिजेता तथा उपबिजेतालाई कोशी प्रदेशसभा सदस्य बिजय राई, अखिल नेपाल फुटबल संघ एन्फाका बरिष्ठ उपाध्यक्ष दावा लामा लगायतले पुरस्कार बितरण गरे । न्यु स्टार क्लबको आयोजनामा भएको प्रतियोगितामा दुई भारतीय टिम सहित ८ टिमको सहभागिता रहेको थियो ।

टिप्पणी लेख्नुहोस्