भारतलाई १० विकेटले हराउँदै इङ्ल्यान्ड टी–२० विश्वकपको फाइनलमा
काठमाडौं । भारतमाथि १० विकेटको सानदार जित निकाल्दै इङ्ल्यान्ड आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियाको एडिलेड ओभल मैदानमा भएको खेलमा इङ्ल्यान्डलाई जिताउन ओपनर एलेक्स हेल्स र जो जस बटलरले अर्धसतकीय इनिङ्स खेले ।
जितको लागि एक सय ६९ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६ ओभरमा विनाविकेटको क्षतिमा एक सय ७० रन बनायो । इङ्ल्यान्डलाई जिताउन एलेक्सले ८६ र बटलरले अविजित ८० रन बनाए ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६८ रन बनाएको थियो । भारतका लागि हार्दिक पाण्डेयले सर्वाधिक ६३ रन बनाए ।
विराट कोहलीले ५० रन बनाए । यस्तै रोहित शर्माले २७ र सूर्यकुमार यादवले १४ रन बनाए । बलिङमा इङ्ल्यान्डका क्रिस जोर्डनले तीन विकेट लिए । आदिल राशिद र क्रिस वोक्सले एक एक विकेट झारे ।
अब इङ्ल्यान्डले फाइनलमा आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानले यसअघि बुधरबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई सात विकेटले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ ।
यससँगै इङ्ल्यान्ड र पाकिस्तान दुवै दोस्रो पटक उपाधि चुम्ने तयारीमा छन् । इङ्ल्यान्डले सन् २०१०मा टी–२० विश्वकप जितेको थियो । पाकिस्तान सन् २००९ मा च्याम्पियन बनेको थियो ।

टिप्पणी लेख्नुहोस्