भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हरायो
काठमाडौं । भारत र दक्षिण अफ्रिकाबीच सुरु भएको तीन खेलको टी–२० सिरिजको पहिलो खेल त्रिवेन्द्रममा खेलिएको छ । खेलमा टस जितेर पहिले बलिङ गर्ने भारतीय कप्तान रोहित शर्माको निर्णय सहि साबित रहयो । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाको आधा टोली १० रनमै आउट हुदै प्याभेलियन पुगेको थियो । टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०६ रन बनाएको थियो ।
भारतका अर्शदीप सिंह र दीपक चाहरले दक्षिण अफ्रिकी ब्याट्सम्यानलाई क्रिजमा टिक्ने मौका दिएनन् । जवाफमा ब्याटिङ गरेको भारतीय टोलीले १६.४ ओभरमा २ विकेट गुमाएर ११० रन बनाउदै खेल जित्यो । जितसँगै भारतले सिरिजमा १–० को अग्रता बनाएको छ ।
अफ्रिकी ब्याट्सम्यान टेम्बा बाभुमा (०), क्विन्टन डी कक (१), रिले रुसो (०), डेभिड मिलर (०), ट्रिस्टन स्टब्स (०) रनमा आउट हुदै भारतीय बलरसामु लाचार देखिए । वेन पार्नेल र एडम मार्करामले इनिङ्स अगाडी बढाउने प्रयास गर्दा मार्कराम पनि २५ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाले १२ औं ओभरमा कठिनाईका साथ ५० रन पार गर्यो।
दक्षिण अफ्रिकाले पूरा २० ओभर पनि खेल्न नसक्ने अवस्था थियो तर अन्त्यमा केशव महाराजले ३५ बलमा ४१ रन बनाउदै दक्षिण अफ्रिकालाई सम्मानजनक स्कोरमा पुर्याए । भारतका लागि अर्शदीप सिंहले ३, दीपक चाहर र हर्षल पटेलले २–२ तथा अक्षर पटेलले १ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्