लेख विवरण

भारतीय फुटबलमा फिक्सिङ, सीबीआईको अनुसन्धान तीव्र

भारतीय फुटबलमा फिक्सिङ, सीबीआईको अनुसन्धान तीव्र

काठमाडौं । फिक्सिङको कुरा बाहिरिएपछि अहिले भारतीय फुटबलमा तरंग मच्चिएको छ । यस प्रकरणमा केही भारतीय क्लबहरुको नाम अगाडि आएको छ । फुटबल फिक्सिङ प्रकरणमा तरंग मच्चिएपछि भारतीय सीबीआईले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । यसै क्रममा सीबीआईको एक टोलीले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) को मुख्यालयमा पुगेको थियो। स्रोतका अनुसार सीबीआईले फुटबलमा कथित म्याच फिक्सिङसँग सम्बन्धित लगानीको बारेमा सोधपुछ गरेको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार फिक्सिङमा ५ भारतीय फुटबल क्लबको नाम अगाडि आएको छ, जसले शेल फर्ममार्फत सिंगापुरका एक फिक्सरबाट पैसा लिएको आरोप लागेको छ ।

टाइम्स अफ इन्डियाका अनुसार एआईएफएफका महासचिव साजी प्रभाकरनले म्याच फिक्सिङप्रति महासंघले शून्य सहनशीलता कायम राखेको बताएका छन् । महासंघले सबै क्लबलाई छानबिनमा सहयोग गर्न आग्रह गरेको प्रभाकरणले बताए ।

महासचिवले शेल कम्पनीमार्फत फिक्सरले गरेको लगानीप्रति आफू चिन्तित रहेको बताए । उनले म्याच फिक्सिङ गर्ने व्यक्ति वा कम्पनीसँग भारतीय फुटबलले कुनैपनि सम्बन्ध नराख्ने बताए ।

सञ्चारमाध्यमका अनुसार सीबीआईले फिक्सिङ प्रकरणमा ती ५ क्लबहरुलाई सम्पर्क गरी सबै विदेशी खेलाडी, विदेशी सहयोगी स्टाफ र क्लबसँग सम्बन्धित प्रायोजकहरूको बारेमा जानकारी दिन आग्रह गरेको छ। क्लबहरु आई-लिगको रहेको दाबी गरिएको छ । आई-लिग भारतको दोस्रो ठूलो फुटबल प्रतियोगिता हो ।

गत जनवरीमा भारतको गोवा प्रो लिगका क्रममा ६ खेलमा सट्टेबाजी गरेको भेटिएको थियो, जसलाई अहिलेकोे फिक्सिङसँग जोडिएको छ । सीबीआईले यो प्रकरणमा पनि छानबिन गरिरहेको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.