भारतीय फुटबल टोलीका पूर्व कप्तानको निधन
काठमाडौं । भारतका पूर्व उत्कृष्ट फरवार्ड खेलाडीमध्येका एक बाबु मणिको ५९ वर्षको उमेरमा शनिबार निधन भएको छ । अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले उनको निधनमा शोक व्यक्त गरेको छ। मणिले सन् १९८४ मा कोलकाताको नेहरू कपबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए। उनले भारतका लागि ५५ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । मणि सन् १९८४ मा एएफसी एसियन कपका लागि छनोट भएको भारतीय टोलीका सदस्य थिए।
उनको करियरको सबैभन्दा ठूलो उपलब्धि सन् १९८४ को एसिया कप थियो। यस बाहेक मणिले साफ खेलकुद (सन् १९८५ र १९८७) मा दुई पटक भारतका लागि स्वर्ण जितेका थिए । उनले भारतको प्रसिद्ध फुटबल क्लब ईस्ट बंगालबाट पनि खेलेका थिए।
एआईएफएफले विज्ञप्ति जारी गर्दै उनको निधनप्रति दुःख व्यक्त गरेको छ । एआईएफएफका अध्यक्ष कल्याण चौबेलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, “आफ्नो समयका उत्कृष्ट फुटबल खेलाडी मध्येका एक बाबु मणिको निधन भएको सुनेर म अत्यन्तै दुखी छु। भारतीय फुटबलमा उनको योगदानको लागि हामी उहाँलाई सधैं सम्झिरहने छौं। मेरो प्रार्थना यस कठिन समयमा उहाँको परिवारसँग छ।"
घरेलु फुटबलमा बाबु मणिले दुई पटक सन्तोष ट्रफी जितेका थिए । उनले सन् १९८६ र १९८८ मा बंगालसँग ट्रफी उचालेका थिए । उनले कोलकाताका तीन ठूला क्लबमा खेले र ट्रफी जित्न सफल भए। उनले मोहमेडन स्पोर्टिङबाट सन् १९८३ मा फेडरेशन कप जितेका थिए । उनले ईस्ट बंगालसँग सीएफएल, आईएफएल शिल्ड, डुरान्ड कप, रोभर्स कप, मोहन बागानसँग फेडरेसन कप, सीएफएल कप, आईएफए शिल्ड, डुरान्ड कप, रोभर्स कप पनि जितेका थिए।

टिप्पणी लेख्नुहोस्