भारत एसिया कप खेल्न पाकिस्तान नगए पीसीबीले विश्वकप बहिष्कार गर्ने
काठमाडौंँ । यसै वर्ष आयोजना हुने एसिया कपको बिषयलाई लिएर भारत र पाकिस्तानबीचको विवाद झनै बढेको छ । यही विवादका कारण पाकिस्तान क्रिकेट बोर्डले भारतमा हुने एकदिवसीय विश्वकप बहिष्कार गर्ने धम्की दिएको छ । पाकिस्तान क्रिकेट बोर्डका प्रमुख नजम सेठीले एसिया कप खेल्न भारत पाकिस्तान नआए ओडीआई विश्वकप बहिष्कार गर्ने बताएका छन् ।
सेठीले विश्वकप बहिष्कार गर्ने धम्की दिएको यो पहिलो पटक भने होइन । यस वर्ष हुने एसिया कप आयोजना गर्ने अधिकार पाकिस्तानसँग छ । तर पाकिस्तानसँगको विवादित सम्बन्धका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्डले पाकिस्तानको भूमिमा एसिया कप नखेल्ने स्पष्ट पारेको छ । भारतको अस्वीकारका कारण पाकिस्तानले एसिया कपको आयोजना गुमाउने खतरा बढेको छ ।
सेठीले भने, ‘भारतले पाकिस्तानमा नखेल्ने निर्णयमा पुनर्विचार गर्नुपर्छ । भारतको यो निर्णयले नराम्रो परिणाम निम्त्याउन सक्छ । निर्णय परिवर्तन नभए विश्वकप बहिस्कार हुनेछ ।'
सेठीले भने, ‘अन्य देशहरु पाकिस्तानमा आएर क्रिकेट खेलिरहेका छन् । भारतले गर्ने विरोधको कारण जायज देखिँदैन। भारतले पाकिस्तानमा किन खेल्न नचाहेको बताउनुपर्छ । भारत र पाकिस्तानबीचको खेलमा विश्वको ध्यान हुन्छ ।'
भारतले एसिया कप खेल्न अस्वीकार गरेपछि एसिया कपको आयोजना खतरामा परेको छ । भारत एसिया कप श्रीलंका वा युएईमा गराउन चाहन्छ । यदि यस्तो भयो भने पाकिस्तानले एसिया कप पनि बहिष्कार गर्न सक्छ ।

टिप्पणी लेख्नुहोस्