लेख विवरण

भारत बिरुद्धको एकदिवसीय सिरिज न्युजिल्याण्डलाई

भारत बिरुद्धको एकदिवसीय सिरिज न्युजिल्याण्डलाई

काठमाडौं । भारत बिरुद्धको एकदिवसीय सिरिज न्युजिल्याण्डलले जितेको छ । तेस्रो एकदिवसीय खेल बर्षाका कारण स्थगित भएपछि किवी टोलीले सिरिज १–० ले जितेको हो । यसअघि टी-२० सिरिज गुमाएको न्युजिल्याण्डले पहिलो एकदिवसीयमा भारतलाई पराजित गरेको थियो । त्यसपछि भएको दोस्रो एकदिवसीय खेल बर्षाका कारण रद्द भयो ।

क्राइस्टचर्चमा बुधवार (आज) भएको तेस्रो खेलमा टस हारेर ब्याटिङ गरेको भारतले ४७.३ ओभरमा अलआउट हुँदै २१९ रन बनायो । त्यसपछि ब्याटिङ गर्न आएको न्युजिल्याण्डको टोलीले १८ ओभरमा १ विकेट गुमाउदै १०४ रन बनाउदा पुनः बर्षा भयो र खेल अवरुद्ध भयो । त्यसपछि डकवर्थ लुइस नियम अनुसार खेलको नतिजा आउन सकेन किनभने एकदिवसीय क्रिकेटमा खेल रोकिनुअघि कम्तिमा २० ओभर आवश्यक हुन्छ । खेलको नतिजा आउन नसकेपछि किवी टोलीले सिरिज १–० ले जित्यो ।

क्राइस्टचर्चमा भारतको ब्याटिङ फ्लप सावित भयो । टोलीका लागि वासिङ्टन सुन्दरले ५१ र श्रेयस अय्यरले ४९ रन बनाए । उनीहरु बाहेक कप्तान धवन २८, शुभमन गिल १३, ऋषभ पन्तले १० रन मात्र बनाउन सके । सूर्यकुमार यादव मात्र ६ रन बनाएर आउट भए । दीपक हुड्डाले १२ रनको इनिङ्स खेले ।

वर्षा प्रभावित खेलमा न्यूजिल्याण्डका ओपनर फिन एलेनले अर्धशतक बनाए । उनले ५४ बलमा ५७ रन बनाए । डेभन कोनवेले अविजित ३८ रन बनाए । भारतका लागि उमरान मलिकले मात्र एक विकेट लिए । न्युजिल्याण्डका डेरिल मिचेल र एडम मिल्नेले समान तीन तीन विकेट लिए । टिम साउथीले दुई विकेट लिए । लोकी फर्गुसन र सान्टनरले १–१ विकेट लिए ।

भारतीय टोलीले न्यूजिल्याण्डमा लगातार दोस्रो पटक एकदिवसीय शृंखला हारेको हो। सन् २०२० मा पनि भारतले टी–२० सिरिज जितेको थियो तर एकदिवसीय सिरिजमा भने ०–३ को लज्जास्पद हार बेहोरेको थियो । यसपटक पनि भारतले टी–२० सिरिज जितेको छ भने एकदिवसीय सिरिजमा पराजित भएको छ ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.