लेख विवरण

मकवानपुर गोल्डकपको उपाधि जित्ने दुवै टिमको दाबी

मकवानपुर गोल्डकपको उपाधि जित्ने दुवै टिमको दाबी

हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको फाइनल खेल (भोलि) सोमबार हुँदैछ । उपाधिका लागि साबिक विजेता त्रिभुवन आर्मी क्लब र घरेलु टोली विजय यूथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

तेस्रो संस्करणमा पनि यी दुई टिमको बीचमा फाइनल खेल भएको थियो । आर्मीले घरेलु टिमलाई हराउँदै तेस्रो संस्करणको उपाधि जितेको थियो । आर्मीले क्यामरुनको एभिनियर एफसीलाई र विजय यूथले नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । आर्मी लगातार दोस्रो वर्ष पनि उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिनेछ भने घरेलु टोली अघिल्लो वर्षको बदला लिँदै उपाधि कब्जा गर्ने दाउमा हुनेछ ।

आइतबार भएको ‘प्रि–म्याच कन्फ्रेन्स’मा दुवै टिमका प्रशिक्षक तथा कप्तानले फाइनल जित्ने दाबी गरेका छन् । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बलिया दुई टिमलाई हराउँदै फाइनल भिडन्त पक्का गरेको स्मरण गर्दै लगातार दोस्रो वर्ष पनि उपाधि जित्नेमा ढुक्क रहेको बताए । ‘हामी डिफेण्डिङ च्याम्पियन पनि हौं । सबै खेलाडीहरू ‘फिट’ छन्’, न्यौपानेले भने, ‘हाम्रो लागि यो घरेलु मैदान जस्तै हो । हामीले मकवानपुर आएर पटक पटक खेलिसकेका छौं । यसपटक पनि उपाधि जित्नेमा ढुक्क छौं ।’ आर्मीका कप्तान भरत खवासले घरेलु टिमसँगको उपाधि भिडन्त कडा र रोमाञ्चक हुने बताए ।

विजय यूथका प्रशिक्षक विजयलाल श्रेष्ठले मुख्य डिफेण्डर दोहोरो पहेँलो कार्डका कारण खेल्न नपाउने भएकोले केही समस्या पर्नसक्ने भन्दै घरेलु मैदान भएकोले भने उपाधि जित्न सहज हुने प्रतिक्रिया दिए । ‘आर्मीसँग फाइनल खेल्न पाउँदा हामी पनि खुसी छौं’, श्रेष्ठले भने, ‘यसपटक उपाधि मकवानपुरमै राख्ने लक्ष्यका साथ मैदान उत्रिनेछौँ ।’

विजय यूथका कप्तान अशोक बरालले १२ महिनै ट्रेनिङ गरिरहने आर्मीसँग खेल्न सहज भने नहुने बताए । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.