लेख विवरण

मधेस प्रदेश सरकारद्धारा आसिफलाई दुई लाख प्रदान गर्ने घोषणा

मधेस प्रदेश सरकारद्धारा आसिफलाई दुई लाख प्रदान गर्ने घोषणा

काठमाडौंँ । मधेस प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको छ ।

बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लबले यसै साता आसिफलाई ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएपछि प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश र देशको शिर ठाडो पार्ने आसिफलाई सो रकम प्रदान गर्ने घोषणा गरेका हुन ।

पर्सा वीरगन्ज निवासी आसिफले २०२२ फेब्रुअरी १४ मा आयरल्यान्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा आयरिस खेलाडी एन्डी म्याकब्रायनलाई रन आउट गर्ने अवसर पाउँदा पनि खेल भावना देखाउँदै रन आउट नगरेपछि आइसिसीले आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ समेत प्रदान गरेको थियो ।

सो म्याचमा एन्डी म्याकब्रायन नेपाली बलर कमलसिंह ऐरीसँग जुधेर लडेपछि आसिफको हातमा बल आएको थियो । रन आउट गर्ने सहज मौका हुँदा पनि उनले रन आउट गरेनन । त्यसैले आइसिसीले आसिफको खेल भावनाको उच्च सम्मान गर्दै वर्षको ‘आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड’ प्रदान गरेको थियो ।

सोही सन्दर्भमा अस्ट्रेलियाको फक्स स्पोर्टस्लेसमेत ‘ब्रिलिएन्ट स्पोर्टस्म्याानसिप फ्रम नेपाल’ भनेर आसिफको प्रशंसा गरेको थियो । हालै सम्पन्न आइसिसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युएई विरुद्ध आसिफले उत्कृष्ट प्रदर्शन गर्न नसके पनि अघिल्ला खेलहरूमा उल्लेखनीय प्रदर्शन गरेका थिए ।

विशेष गरी उदाहरणीय खेल भावनाको परिचय दिँदै विश्वभरिका क्रिकेटप्रेमीहरुको मन जितेर प्रदेश र देशको प्रतिष्ठा बढाएकोमा उच्च कदर गर्दै प्रदेश सरकारले सम्मान स्वरुप आसिफलाई सो रकम प्रदान गर्न लागेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए ।

यसअघि प्रदेश सरकारले गुलशन झा र आरिफ शेखलाई पनि जनही दुई-दुई लाख प्रदान गर्ने घोषणा गरिसकेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.