मलेसियामा प्रथम गोर्खाली पाँच किलोमिटर दौड प्रतियोगिता सम्पन्न
मलेसिया । नयाँ बर्ष २०२३ तथा नेपाली टोपी दिवसको अवसरमा मलेसियामा प्रथम गोर्खाली पाँच किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएकोछ । आशिर्वाद फाउण्डेशन मलेसियाको आयोजनामा हिजो (आइतवार) लेक गार्डेन पार्कमा 'प्रवासबाटै खेलकुद, स्वास्थ्यको लागि खेलकुद' भन्ने मुल नाराको साथ प्रतियोगिता आयोजना भएको थियो ।
प्रतियोगिताको प्रमुख अतिथि मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेलले यस प्रकारको रचनात्मक कृयाकलापहरुमा दुतावासले गर्ने सक्ने र गर्न पर्ने सहयोग सधै गर्न प्रतिबद्ध रहेको बताए । उनले आयोजक आशिर्वाद फाउण्डेशनलाई धन्यबाद दिदै प्रतियोगिहरुलाई बधाई तथा नयाँ बर्षको शुभकामना ज्ञापन गरेका थिए ।
यस्तै गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापाले पनि सकारात्मक र शृजनशिल कृयाकलाहरुमा साथ र सहयोग सधै रहने बताउदै आशिर्वाद फाउण्डेशनलाई पाँच सय एकाउन्न रिंगेट आर्थिक सहयोग प्रदान गरे ।
प्रतियोगितामा महादेव रिजालले २१ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गरेका थिए । यस्तै दोस्रो भएका सन्तोष चेम्जोङले २३ मिनेट ५५ सेकेण्ड, तेस्रो मनोज कुरुवाङले २५ मिनेट ४५ सेकेन्डमा निर्धारित ५ किलोमिटर दुरी पार गरेका थिए । यस्तै तुलाराम धामीले २६ मिनेट ५४ सेकेन्ड, सन्देश रोकाले २७ मिनेट ५४ सेकेन्ड, अरुण तामाङले २८ मिनेट ७ सेकेन्ड, स्यामलाल तामाङले २९ मिनेट ४० सेकेन्ड, दिपक श्रेष्ठले २९ मिनेट ४० सेकेन्ड, राम बहादुर राईले ३१ मिनेट २५ सेकेन्ड र तेन्जुङ तामाङले ३१ मिनेट २७ सेकेन्डमा निर्धारीत दुरी पार गरेका थिए ।
प्रथम स्थान देखि दशौं स्थान हासिल गर्न सफल प्रतियोगिहरुलाई प्रमुख अतिथि राजदुत पौडेल र गैरआवासीय नेपाली संघका अध्यक्ष थापाले मेडल र अबिरले सम्मान गरेका थिए ।
प्रतियोगितामा मलेसियाको विभिन्न ठाउबाट ३४ जना प्रतियोगिहरुले सहभागीता जनाएका थिए । प्रतियोगिहरुलाई उर्जा प्रदान गर्न प्रमुख अतिथि राजदुत पौडेल, गैरआवासीय नेपाली संघको अध्यक्ष थापा साथै नेपाली दुतावासका प्रथम सचीव प्रतीक कार्की तथा यशु बस्नेत पनि सहभागी भएका थिए ।
यो संगै आयोजक आशिर्वाद फाउण्डेशनको टिमले बर्षमा चार वटा शारिरीक तथा मानसिक स्वस्थ्यको लागि कृयाकलाप गर्ने घोषणा गरेको छ ।

टिप्पणी लेख्नुहोस्