महान् फुटबलर पेलेको अन्तिम संस्कार आज गरिने
काठमाडौं । ब्राजिलका महान् फुटबलर पेलेको आज (मंगलबार) अन्तिम संस्कार गरिने भएको छ । ८२ वर्षीय पेलेको गत बिहीबार राति साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनी क्यान्सरबाट पीडित थिए ।
अन्तिम संस्कार अघि पेलेको पार्थिव शरीरलाई सोमबारदेखि अन्तिम श्रद्धाञ्जली दिन ब्राजिलको साओ पाउलोस्थित सान्तोस क्लबको रङ्गशालामा राखिएको छ । पेलेले दुई दसकभन्दा बढी समय सान्तोस क्लबबाट खेलेका थिए । २४ घण्टाको श्रद्धाञ्जली सभापछि पेलेको अन्तिम संस्कार गरिने बताइएको छ ।
पेलेलाई अन्तिम श्रद्धाञ्जली दिन विश्व फुटबल महासङ्घ (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनो पनि साउपाउलो पुगेका छन । श्रद्धाञ्जली कार्यक्रममा इन्फान्टिनोले फिफाले पेलेलाई उच्च सम्मान गर्ने बताए । उनले फिफाका हरेक सदस्य राष्ट्रले पेलेको सम्मानमा कम्तीमा एउटा रङ्गशालाको नाम पेलेको नामबाट राख्न आग्रह समेत गरेका छन ।
पेलेको वास्तविक नाम एड्सन अरान्तेस दो नासिमेन्तो हो । पेलेलाई अन्तिम श्रद्धाञ्जली दिन हजारौँ प्रशंसकहरू दुई घण्टा बढी लाइनमा बसेर सान्तोस रङ्गशाला पुगेका थिए । पेलेको अन्तिम संस्कारमा ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाको पनि सहभागिता रहने छ ।
तीन पटक फिफा विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ । पेले प्रेरित ब्राजिलले सन् १८५८, १९६२ र १९७० को विश्व कप जितेको थियो । पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १ हजार ३ सय ६३ खेल खेल्दै १ हजार २ सय ८१ गोल गरेका थिए ।
पेलेले ब्राजिलका लागि ९२ खेल खेल्दै ७७ गोल गरेका छन । फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो । एजेन्सी

टिप्पणी लेख्नुहोस्