लेख विवरण

महिला आईपीएल पहिलो सिजनको लिलामी आज

महिला आईपीएल पहिलो सिजनको लिलामी आज

काठमाडौंँ । महिला प्रिमियर लिग (डब्लुपीएल) को पहिलो लिलामी आज (सोमवार) हुँदैछ । लिलामी मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा दिउँसो २.३० बजे सुरु हुनेछ। बिसीसीआइले डब्लुपीएल लिलामीका लागि महिला अक्शनर मात्र छनोट गरेको छ। मल्लिका आडवाणीलाई यो जिम्मेवारी दिइएको छ । यस लिलामीमा १५ देशका ४०९ खेलाडीको बोली लाग्ने छ, जसमध्ये ७५ देखि ९० खेलाडीको मात्रै भाग्य चम्किनेछन् ।

डब्लुपीएल २०२३ को लिलामीका लागि करिब १ हजार ५ सय २५ खेलाडी दर्ता भएका थिए, जसमध्ये ४०९ खेलाडी सर्टलिस्ट भएका छन। यी ४०९ खेलाडीमध्ये २४६ भारतीय र १६३ विदेशी रहेका छन् । १६३ विदेशी खेलाडीमध्ये ८ एसोसिएट देशका छन् । लिलामीका लागि छनोट भएका ४०९ खेलाडीमध्ये २०२ ले अन्तर्राष्ट्रिय स्तरमा खेलेका छन् भने १९९ ले अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्न पाएका छैनन् ।

डब्लुपीएल लिलामीमा अलराउन्डरको संख्या सबैभन्दा बढी रहेको छ । जसमध्ये भारतबाट १२७ र विदेशबाट ७३ खेलाडी रहेका छन । त्यसपछि बलरको रुपमा भारतबाट ५१ र विदेशबाट ४२ खेलाडी छनोट भएका छन् । ब्याट्सम्यानमा भारतका ४२ र विदेशका २९ तथा विकेटकिपरमा भारतका २६ र विदेशका १९ खेलाडी लिलामी सूचीमा परेका छन् ।

डब्लुपीएलको पहिलो सिजनमा ५ टोलीको सहभागिता रहेको छ । यसपटकको लिलामीमा यी पाँच टोलीका फ्रेन्चाइजीले आ–आफ्नो टोली छनोट गर्नेछन् । प्रत्येक फ्रेन्चाइजीले आफ्नो टोलीमा १५ देखि १८ खेलाडी राख्न पाउनेछन। यस्तो अवस्थामा कम्तीमा ७५ र अधिकतम ९० खेलाडीको लिलामी हुनेछन् । प्रत्येक फ्रेन्चाइजीले आफ्नो टोलीमा बढीमा ६ विदेशी खेलाडी राख्न पाउनेछन ।

प्रत्येक फ्रेन्चाइजीको वालेटमा लिलामीको लागि ६० करोड भारतीय रुपैयाँ हुनेछ। अर्थात् जम्मा ६० करोड रुपैयाँ दाउमा पर्नेछ । प्रत्येक फ्रेन्चाइजीले लिलामीमा कम्तिमा ९–९ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । यो लिलामी को समयमा सबै फ्रेन्चाइजी को पर्स पूर्ण खाली हुन सक्छ भन्ने आशा गरिएको छ। लिलामीमा २४ खेलाडीको आधार मूल्य ५० लाख भारतीय रुपैयाँ तोकिएको छ । योसँगै ३० खेलाडीको आधार मूल्य ४० लाख रुपैयाँ राखिएको छ । त्यसपछि ३०, २० र १० लाखको आधार मूल्य भएका खेलाडीहरु पनि छन् ।

भारतीय खेलाडीहरूमा हरमनप्रीत कौर, स्मृति मन्धाना, शेफाली वर्मा, दीप्ती शर्मा र रेणुका सिंहलाई फ्रेन्चाइजी टोलीले किन्न मोटो रकम खर्च गर्न सक्ने अनुमान गरिएको छ । अर्कोतर्फ, विदेशी खेलाडीहरूमध्ये ताहिला म्याकग्रा, सोफी डेभिन, एलिसा हिली, एलिस पेरी, नेट शिभर, हेली म्याथ्यूज, शबनिम इस्माइल, बेथ मुनी र सोफी एक्लेस्टोन जस्ता अनुभवी खेलाडीहरूको बोली करोडमा जान सक्ने सम्भावना रहेको छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.