महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
काठमाडौंँ । अष्ट्रेलियाली महिला टोलीले टी–२० विश्वकपको उपाधिमा ह्याट्रिक गरेको छ । केप टाउनको न्युल्यान्ड्स मैदानमा भएको फाइनलमा खेलमा टोलीले दक्षिण अफ्रिकालाई १९ रनले पराजित गर्दे उपाधिमाथी पुनः कब्जा गर्न सफल भएको हो । योसँगै अष्ट्रेलियाले छैटौं पटक टी–२० विश्वकपको उपाधि जित्न सफल भएको छ ।
फाइनलमा अस्ट्रेलियाकी ओपनर बेथ मुनीले अन्तिम ओभरसम्म ब्याटिङ गर्दै सर्वाधिक ७९ रनको अविजित पारी खेलिन । यही प्रदर्शनका आधारमा उनी प्लेयर अफ द म्याच बनिन । प्रतियोगिता अवधिभर ११० रन बनाउदै १० विकेट लिएकी अष्ट्रेलियाकी एस्ले गार्डनर प्लेयर अफ द टुर्नामेन्ट भइन ।
महिला टी–२० विश्वकपमा अस्ट्रेलियाले दोस्रो पटक उपाधि ह्याट्रिक गरेको छ । टोलीले सन् २०१८, २०२० र २०२३ मा उपाधि जितेको थियो। त्यसअघि टोलीले २०१०, २०१२ र २०१४ मा पनि उपाधि ह्याट्रिक गरेको थियो । अस्ट्रेलिया बाहेक इंग्ल्याण्ड र वेस्ट इन्डिजले १–१ पटक टी–२० विश्वकप प्रतियोगिता जितेका छन् ।
टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । टोलीका लागि बेथ मुनीले अविजित ७९ रनको इनिङ खेलिन् । १५७ रनको लक्ष्यको पछ्याएको दक्षिण अफ्रिका २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्रै बनायो । टोलीका लागि ओपनर लौरा वोल्भार्डले ६१ रनको इनिङ खेलिन । तर, आफ्नो टोलीलाई जिताउन असफल रहिन ।
अष्ट्रेलियाका लागि मेगन शट, एस्ले गार्डनर, डार्सी ब्राउन र जेस जोनासेनले १–१ विकेट लिए । चारै बलरले प्रति ओभर ६ देखि ७ रन मात्र दिए । दक्षिण अफ्रिकाका २ खेलाडी रनआउट भए । लौरा वोल्भार्ड बाहेक अलावा ताजमिन ब्रिट्स १०, मेरियन क्याप ११, सुने लुस २, क्लो ट्रियोन २५ र एनेके बोसले १ रन बनाए । नादिन डी क्लर्क ८ र सिनालो जाफ्टा १ रन जोडेर अविजित रहे ।
अष्ट्रेलियाका लागि ओपनर बेथ मुनीले ७९ रनको अविजित इनिङ खेलिन् । दक्षिण अफ्रिकाका मारियन कप र शबनिम इस्माइलले २–२ विकेट लिए । अस्ट्रेलियाका बाँकी खेलाडीमा ओपनर एलिसा हिली १८, एस्ले गार्डनर २९, एलिस पेरी ७, जर्जिया वेयरहम नट, ग्रेस ह्यारिस र कप्तान मेग ल्यानिङले १०–१० रन बनाए । ताहलिया म्याकग्रा एक रनमा अविजित रहिन् । दक्षिण अफ्रिकाका नोनकुलुलेको म्लाबा र क्लो ट्रियोनले पनि एक एक विकेट लिए ।
फाइनलमा दक्षिण अफ्रिकाकी शबनिम इस्माइलले २ विकेट लिइन । योसँगै उनी महिला टी–२० विश्वकपको इतिहासमा सर्वाधिक विकेट लिने खेलाडी बनेकी छिन् । उनले ३२ खेलमा ४३ विकेट लिएकी छन् । उनले इंग्ल्याण्डकी अन्या श्रबसोलको कीर्तिमान पनि तोडिन् । जसले २७ खेलमा ४१ विकेट लिएका छन् । अष्ट्रेलियाकी एलिस पेरी ४२ खेलमा ४० विकेट लिएर तेस्रो स्थानमा रहेकी छिन् ।

टिप्पणी लेख्नुहोस्