महिला टी-२० विश्वकप : अस्ट्रेलियाले न्यूजिल्याण्डलाई हरायो
काठमाडौंँ । पाँच पटकको विश्व च्याम्पियन अष्ट्रेलियाले टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा न्युजिल्याण्डलाई ९७ रनले पराजित गरेको छ । पार्लको बोल्याण्ड पार्कमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७३ रन बनाएको थियो । ओपनर एलिसा हिलीले ५५, कप्तान मेग लानिङले ४१ र एलिस पेरीले ४० रन बनाए । जवाफमा न्युजिल्याण्ड ७६ रनमा अलआउट भयो । अस्ट्रेलियाका अफब्रेक स्पिनर एस्ले गार्डनरले ५ विकेट लिइन । पुरुष र महिला टी-२० विश्वकपमा अस्ट्रेलियाको यो अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो।
अस्ट्रेलियाकी ओपनर एलिसा हिलीका अलावा मिडल अर्डर ब्याट्सम्यान मेग ल्यानिङ (४१) र एलिस पेरीले ४० रन जोडे। पहिले ब्याटिङ गरेको अस्ट्रेलियाको पहिलो विकेट चौथो बलमा नै खसेको थियो । बेथ मुनी खाता नखोल्दै आउट भइन् । यसपछि मेग ल्यानिङले इनिङको जिम्मा लिदै ७० रनको साझेदारी गरिन् ।
न्युजिल्याण्डका लागि ले ताहु र अमिला केरले ३-३ विकेट लिए । जेस केर र हेली जेन्सनले १–१ विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डका दुवै ओपनरले खाता खोल्न सकेनन् । सुजी बेट्स र कप्तान सोफी डेभिन पहिलो बलमै आउट भए । मेगन शुटले दुवैलाई आउट गरिन्। यसपछि न्युजिल्यान्डको इनिङ्स लगातार ध्वस्त बन्दै गयो । टोलीका लागि अमेलिया केरले सर्वाधिक २१ रन बनाइन । जबकि ८ खेलाडीले दोहरो अंकमा रन बनाउन सकेनन् ।
अस्ट्रेलियाका लागि एस्ले गार्डनरका अलावा मेगन शटले २, एलिस पेरी र डार्सी ब्राउनले १–१ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्