लेख विवरण

महिला बिग ब्यास लिगबाट अष्ट्रेलियाली कप्तान बाहिरिने

महिला बिग ब्यास लिगबाट अष्ट्रेलियाली कप्तान बाहिरिने

काठमाडौं । अस्ट्रेलियाकी कप्तान मेग ल्यानिङले क्रिकेटबाट अनिश्चितकालीन विश्राम लिने घोषणा गरेकी छन् । यसैकारण उनले मेलबर्न स्टार्सका लागि महिला बिग ब्यास लिग (डब्लुबीबीएल)मा नखेल्ने भएकी छिन ।

बर्मिंघममा भएको कमनवेल्थ गेम्समा अस्ट्रेलियालाई स्वर्ण पदक दिलाएपछि ल्यानिङले ब्रेक लिने निर्णय गरेकी थिइन । उनी कहिले फर्कने भन्ने स्पष्ट भइसकेको छैन । मेलबर्न स्टार्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "क्लबले उनको निर्णयको सम्मान गर्दछ र मानिसहरुले उनको गोपनीयताको सम्मान गर्ने अपेक्षा गर्दछौं ।"

स्टार्सले अब आगामी अक्टोबर १५ देखि सुरु हुने महिला बीबीएल लागि नयाँ कप्तान खोज्नुपर्ने भएको छ । ल्यानिङले आफ्नो घरेलु टोली भिक्टोरियाको कप्तानीको जिम्मा पनि सोफीलाई हस्तान्तरण गरिसकेकी छिन ।

महिला बिग ब्यास लिगबाट ल्यानिङ बाहिरिएपछि अस्ट्रेलियाले अब डिसेम्बरमा हुने भारत भ्रमणका लागि नयाँ कप्तान छान्नुपर्ने हुन सक्छ ।

गत साता अस्ट्रेलियन टोलीको मुख्य प्रशिक्षकमा नियुक्तकी शेली निचकाले ल्यानिङको भविष्यबारे छलफल नभएको बताइन ।

उनले भनीन, 'सही समय आएपछि हामी यस विषयमा कुरा गर्नेछौं ।'

पूर्व उपकप्तान रचेल हेन्सले अन्तर्राष्ट्रिय र राज्य क्रिकेटबाट सन्यास लिएपछि अस्ट्रेलियाले नयाँ नेतृत्व समूह गठन गरेको छ । यद्यपि, निचाका आफ्नो टोलीमा रहेको प्रतिभाप्रति विश्वस्त छिन् ।

ल्यानिङ २१ वर्षको उमेरमा अस्ट्रेलियाको कप्तान बनेकी थिइन । उनले टी–२० विश्वकप, एकदिवसीय विश्वकप, कमनवेल्थ गेम्स र एशेज सिरिजमा स्वर्ण पदक जितेकी छिन् । एकदिवसीयमा ५३.५३ र टी–२० अन्तर्राष्ट्रियमा ३६.४८ को औसतमा ब्याटिङ गरेकी उनले आफूलाई विश्वकै उत्कृष्ट ब्याट्सम्यानका रुपमा स्थापित गरेकी छिन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.