लेख विवरण

महिला बिग ब्यास लिगमा १९ वर्षीया फ्लिन्टपले बनाइन सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान

महिला बिग ब्यास लिगमा १९ वर्षीया फ्लिन्टपले बनाइन सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान

काठमाडौं । महिला बिग ब्यास लिगमा १९ वर्षीया टेस फ्लिन्टपले सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाएकी छिन । मेलबर्न स्टार्सका लागि खेल्दै उनले १६ बलमा अविजित ५१ रन बनाइन । एडिलेड स्ट्राइकर्सलाई २२ रनले पराजित गर्न उनले महत्वपूर्ण योगदान दिइन। फ्लिन्टपअघि यो कीर्तिमान अष्ट्रेलियाकी अलराउन्डर एश्ले गार्डनर र दक्षिण अफ्रिकाकी लिजेल लीको नाममा थियो । यी दुवै खेलाडीले २२ बलमा अर्धशतक बनाएका थिए । दुबैले सन् २०१७ मा यो कीर्तिमान बनाएका थिए ।

फ्लिन्टपले आफ्नो पारीमा ६ चौका र तीन छक्का प्रहार गरिन । उनले इनिङ्सको अन्तिम बलमा छक्का प्रहार गर्दै टोलीको स्कोर पाँच विकेटमा १८६ रन पुर्याएकी थिइन ।

पछिल्ला तीन खेलमा ब्याटिङ गर्ने मौका नपाएकी फ्लिन्टपले यसअघि पर्थ स्कोर्चर्सविरुद्ध अविजित ४० रन बनाएकी थिइन । मेलबर्न स्टार्सको जितमा इंग्ल्याण्डका एलिस क्याप्सी र लरेन विन्फिल्ड हिलले पनि महत्वपूर्ण योगदान दिएकी थिइन । दुवैले दोस्रो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए। विनफिल्डले ४७ र क्याप्सीले ४९ रन बनाइन ।

मेलबर्न स्टार्सको १८६ रनको जवाफमा एडिलेड स्ट्राइकर्सको टोली १६४ रन मात्रै बनाउन सक्यो । स्ट्राइकर्सकी केटी म्याकले सर्वाधिक ४७ रन बनाइन । ब्रिजिट प्याटरसनले ४१ रन बनाइन् । मेलबर्नका लागि साशा मोलोनीले ४ विकेट लिइन ।

प्रतियोगितामा मेलबर्न स्टार्सको यो दोस्रो जित हो । एडिलेड चार जितसहित अंक तालिकाको तेस्रो स्थानमा छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.