महिला भलिबल खेलाडी सरस्वती कम्तीमा ६ महिना कोर्ट बाहिर
काठमाडौँ । राष्ट्रिय महिला भलिबल टोलीको स्पाइकर सरस्वती चौधरी कम्तीमा ६ महिना कोर्ट बाहिर रहने भएकी छिन । बंगलादेशमा हालै सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको फाइनल खेलको क्रममा बायाँ घुँडामा चोट बोकेकी चौधरीको सोमबार घुँडाको शल्यक्रिया गरिएको छ ।
च्याम्पियनसिपमा नेपाल पहिलो भएको थियो । सरस्वतीको सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा शल्यक्रिया गरिएको हो । उनी विभागीय टोली सशस्त्रकै खेलाडी हुनु । सरस्वतीको शल्यक्रियामा सामेल सर्जिकल अर्थोपेडिक विभागका डा. शैलेन्द्र श्रेष्ठ लगायतको चिकित्सक टोलीले सरस्वतीलाई खेलमा फर्कन ६ महिनाभन्दा बढी समय लाग्ने जानकारी दिए ।
बंगलादेशमा चोट बोकेर फर्किएपछि पनि सरस्वतीले पोखरामा पुष २६ देखि माघ १ गतेसम्म सञ्चालित टाइगर कप भलिबल खेलेकी थिइन । एपिएफलाई टाइगर कप उपाधि दिलाउन मुख्य भूमिका निर्वाह गरेकी उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी समेत भएकी थिइन । नेपाली महिला राष्ट्रिय भलिबल टोलीले हात पारेको पछिल्ला ठूला अन्तर्राष्ट्रिय उपलब्धिहरुमा सरस्वतीको महत्वपूर्ण योगदान रहेको छ ।

टिप्पणी लेख्नुहोस्