महिला विश्वकप क्रिकेट : भारत ६२ रनले पराजित
काठमाडौं । महिला एकदिवसीय विश्वकप क्रिकेटको आठौं खेलमा न्यूजिल्याण्डले भारतलाई ६२ रनले पराजित गरेको छ । जारी विश्वकपमा भारतको यो पहिलो हार हो। टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डको टोलीले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २ सय ६० रन बनाएको थियो ।टोलीका लागि एमी सेटरथवेटले सर्वाधिक ७५ रनको पारी खेलिन् । २६१ रनको लक्ष्य पछ्याएको भारतीय टोली ४६.४ ओभरमा १९८ रनमा सिमित भयो ।
टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डको सुरुवात राम्रो हुन सकेन । ओपनर सुजी बेट्स ५ रनमा आउट भइन्। कप्तान सोफी डेभिन ३५ रन बनाएर आउट भइन् । अमेलिया केर र सेटरथवेटले तेस्रो विकेटका लागि ६७ बलमा ६७ रनको साझेदारी गरिन। अमेलिया ५० रन बनाएर आउट भइन् । त्यसपछि म्याडी ग्रीन २७ रन बनाएर आउट भइन ।
केटी मार्टिन र सेटरथवेटले पाँचौं विकेटका लागि ५५ बलमा ४९ रनको साझेदारी बनाईन। सटरथवेट ७५ रन बनाएर आउट भइन । उनी आउट हुनेबित्तिकै न्यूजिल्याण्डको इनिङ्स ध्वस्त भयो।भारतीय बलर पूजा वस्त्रकारले ४७ औं ओभरमा लगातार दुई बलमा ली ताहुहु र जेस केरलाई प्याभिलियन पठाइन् । अन्त्यमा फ्रान्सिस म्याके (१३) र हाना रोवे (२) रनमा अविजित रहिन । भारतका लागि पुजा र राजेश्वरीको साथै झूलन गोस्वामी र दीप्ती शर्माले एक एक विकेट लिइन ।
२६१ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय टोलीको सुरुवात राम्रो हुन सकेन । स्मृति मन्धाना ६ रन बनाएर आउट भइन् । उनलाई जेस केरलेले सुजी बेट्सको हातबाट क्याच आउट गराइन । त्यसपछि मैदानमा आएकी दीप्ती शर्माले पनि खासै केही गर्न सकिनन र पाँच रन बनाएर आउट भइन् । यास्तिका भाटिया २८ रनमा आउट हुँदा कप्तान मिताली राजले ३१ रन बनाइन । मिताली र हरमनप्रीत कौरले चौथो विकेटका लागि ४७ रनको साझेदारी गरिन। हरमनप्रीतले आफ्नो एकदिवसीय करियरको १४औं अर्धशतक बनाए पनि भारतलाई हारबाट जोगाउन असफल भइन ।
ऋचा घोष शून्य, स्नेहा राणा १८, पूजा वस्त्रकार ६ र झुलन गोस्वामीले १५ रन बनाइन । न्यूजिल्याण्डकी जेन्सनले राजेश्वरी गायकवाडलाई प्याभिलियन पठाउदै भारतीय इनिङ्सको अन्त्य गरिन । मेघना सिंह १२ रनमा अविजित रहिन् । न्युजिल्याण्डका लागि ली ताहुहु र अमेलिया केरलेले समान ३–३ विकेट लिइन । हेली जेन्सनले दुई विकेट लिइन । जेस केर र हाना रोवेलेले एक–एक विकेट लिइन।
हारसँगै भारतीय टोली एक हार र एक जित सहित दुई अंक जोड्दै अंक तालिकाको तेस्रोबाट पाँचौं स्थानमा झरेको छ । न्युजिल्यान्डको टोली तीन खेलबाट दुई जित र एक हार सहित चार अंक जोडेर दोस्रो स्थानमा पुगेको छ । अष्ट्रेलिया दुई खेलबाट चार अंकसहित शीर्ष स्थानमा छ भने वेस्ट इन्डिज चार अंकसहित तेस्रो स्थानमा छ ।

टिप्पणी लेख्नुहोस्