लेख विवरण

महिला हाफ खुल्ला म्याराथनको उपाधि न्यौपानेलाई

महिला हाफ खुल्ला म्याराथनको उपाधि न्यौपानेलाई

तनहुँ । तेस्रो महिला हाफ खुल्ला म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लब काठमाडौँकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी छन ।

व्यास नगरपालिकाद्वारा अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज यहाँ आयोजित म्याराथनमा कूल सहभागी ६४ धावकलाई पछि पार्दै जुम्लाकी न्यौपानेले प्रथम स्थान हासिल गर्न सफल भइन । व्यास–३ व्यास गुफादेखि व्यास –११ को तनहुँसुरसम्मको २१ किमी दूरी धावक न्यौपानेले एक घण्टा ४७ मिनेट ५१ सेकेन्डमा पार गरेकी हुन ।

त्यसैगरी, सोलुखुम्बुकी अनिता राई द्वितीय भएकी छन । उनले एक घण्टा ५२ मिनेट २४ सेकेन्डमा दूरी पार गरेकी हुन । जुम्लाकी विश्वरुपा बुढाले एक घण्टा ५७ मिनेट ३२ सेकेन्डमा दूरी पार गरी तृतीय भइन ।

प्रतियोगितामा प्रथम हुने धावकले रु ४१ हजार ७९, द्वितीय हुनेले रु ३१ हजार ७९ र तृतीय हुने धावकले रु २१ हजार ७९ का साथमा मेडल र ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी, गुल्मीकी गीता विक, गोरखाकी अमृता गुरुङ र नवलपरासीका सीमा चौधरी सान्त्वना भएका छन् । उनीहरुले क्रमश : रु ११ हजार ७९ का दरले पुरस्कार तथा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजयी धावकहरुलाई व्यास नगरप्रमुख बैकुण्ठ न्यौपाने र उपप्रमुख इन्दिरा दरैले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए । सो अवसरमा नगरप्रमुख न्यौपानेले खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न म्याराथनको आयोजना गरेको बताए ।

व्यास गुफादेखि सफा सडक हुँदे तालघरे, मुसेखोला, घाँसीकुवा, परासर मार्गको सेरा, बेलटारी, अर्चलचौर, धरमपानी हुँदै तनहुँसुर दरबारसम्म पुगेर म्याराथनको अन्त्य भएको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.