लेख विवरण

मिथिला कप : हुसेन चम्किंदा बजाज युथ विजयी

मिथिला कप : हुसेन चम्किंदा बजाज युथ विजयी

राजविराज । सप्तरीको राजविराजमा जारि चौंथो संस्करणको मिथिला कप टि-ट्वान्टी अन्तर्गत पाँचौ दिन सम्पन्न एक मात्र खेलमा बजाज युथ क्रिकेट क्लब ५ रनले विजयी भएको छ। उसले डिफेन्डिङ च्याम्पियन युनाइटेड क्रिकेट क्लब पर्सालाई पराजित गर्यो।

मंगलबार बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा सम्पन्न खेलमा बजाज युथ क्लब सप्तरीले दिएको ११४ रनको लक्ष्य पछ्याएको युनाइटेड क्रिकेट क्लब पर्साले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १०८ रन मात्र बनायो।

युनाइटेडको लागि यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका सन्तोष कार्कीले ३८ रन बनाएता पनि जित्न पर्याप्त रहेन। अल्फाज मन्सुरीले २५, सम्साद मन्सुरीले २३ रन बनाए।

बजाज युथको बलिंगमा मोहम्मद हुसेन एक्लैले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २२ रन खर्चिए। देब्रे हाते फास्ट बलर हुसेन प्लेयर अफ द म्याच घोषित भए। बिपिन खत्री, मिकु मण्डल र अभय मण्डलले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बजाज युथ सप्तरीले २० ओभरमा ८ विकेट क्षेतीमा ११३ रन बन्यो। उसको लागि पपु यादवले सर्वाधिक २५ रन, बिपिन खत्रीले २० रन, मोहम्मद हुसेनले १२ तथा सन्दिप क्षेत्रीले १० रन योगदान दिए। अतिरिक्तको रुपमा उसले १७ रन पायो।

युनाइटेड पर्साका बलर संसाद मन्सुरीले ३, सैफुल्लाह अन्सारी र सम्साद अन्सारीले २/२ तथा ब्यास यादवले १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत शुक्रबार दोश्रो क्वार्टरफाइनलमा एफसीसी सुनसरी र बिवाईए सप्तरी प्रतिस्पर्धा गर्नेछन्।

युवा शक्ति क्लबद्वारा आयोजित नक-आउट प्रतियोगितामा १६ टोलि सहभागी छन्। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.