मिनी म्याराथनको उपाधि प्रशान्तलाई
पाँचथर । पाँचथरको फिदिममा आयोजित पाचौँ सुम्हात्लुङ मिनी म्याराथनको उपाधि सुनसरीको धरानका प्रशान्त तामाङले उचालेका छन् । म्याराथनमा नौ दशमलव पाँच किलोमिटर दूरीको तामाङले २९ मिनेट १० सेकेण्डमा पार गरेका थिए । ताप्लेजुङका रमेश लिम्बू द्वितीय र पाँचथरको हिलिहाङ–५ का दीपक सुहाङ तृतीय भएको आयोजक सुम्हात्लुङ आम्बेपज संरक्षण तथा विकास प्रतिष्ठानले जनाएको छ ।
उक्त दूरी द्वितीय भएका लिम्बूले २९ मिनेट ५० सेकेण्ड र तृतीय भएका सुहाङले ३० मिनेट २० सेकेण्डमा पारेका गरेका थिए । प्रतिष्ठानका अनुसार उपाधि विजेताले रु ३० हजार, द्वितीयले रु २० हजार र तृतीयले रु १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै महिलातर्फ ताप्लेजुङकी समपाल्मु शेर्पा प्रथम भइन् । शेर्पाले निर्धारित दूरी ३७ मिनेटमा पार गरेको आयोजकले जनाएको छ । खुला म्याराथन आयोजना गरिएपनि महिला धावकसमेत सहभागी भएपछि महिलातर्फको विधासमेत थप गरिएको आयोजकले जनाएको छ ।
महिलातर्फको विजेताले रु पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै पुरुषतर्फ उत्कृष्ट तीन जनाका अतिरिक्त थप १० जनालाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । म्याराथन फिदिम नगरपालिका–५ गढीस्थित सुम्हात्लुङ मन्दिरबाट सुरु भई फिदिमका क्याम्पसमोड, जोरसाल, पल्लोटार बसपार्क, शनिबारे मन्दिर, हुलाकलाइन, प्रहरी कार्यालय हुँदै पुनः सुम्हात्लुङ मन्दिर पुग्ने रुट तय भएको थियो ।
फिदिममा बुधबारदेखि सुरु भएको चासोक मेलाका अवसरमा म्याराथन आयोजना गरिएको हो । किराँत सम्वत् येले तङ्बे ५०८२ का अवसरमा सुम्हात्लुङ आम्बेपज संरक्षण तथा विकास प्रतिष्ठानले मेला आयोजना गरेको हो ।

टिप्पणी लेख्नुहोस्