मिल्स टि–२० क्रिकेट : नरपथगन्ज र एनबीएससी फाइनलमा
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टी– २० प्रतियोगितामा भारत विहारको नरपथगन्ज क्रिकेट क्लब फाइनल पुगेको छ ।
आयोजक घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगरलाई ७५ रनले स्तब्ध बनाउँदै पाहुना टोली नरपथगन्ज उपाधि नजिक पुगेको हो ।
उपाधीको लागि नरपथगन्जले शनिबार हुने फाइनलमा एनबीएससी क्रिकेट क्लब विराटनगरसँग भिड्नेछ । एनबीएससीले बोस्टन झापा, मिल्स एकाडेमी र वाइआरसीसी क्रिकेट क्लब विराटनगरलाई हराउँदै फाइनलमा पुगेको हो । नरपथगन्जले भारतको पूर्णिया, बैशाली र आयोजक मिल्स क्रिकेटलाई हराउँदै उपाधि नजिक पुगेको छ ।
विराटनगर जुट मिलको खेल मैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा १९९ रनको विजय लक्ष्य पाएको घरेलु टिम विराटनगर १५.५ बलमा १० विकेट गुमाउँदै १२४ रनमा सिमित भयो । विराटनगरका अरुण एडिले २९ रन बनाए । अनिल साहले १८ रन र सुनिल धमालले १७ रन जोडे ।
नरपथगन्जका दिव्य सिंहले ४ ओभरमा ३ विकेट लिए । सक्षमत शर्मा र रवण कुमारले समान २–२ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ पाएको नरपथगन्जले १९ ओभर २ बलमा १० विकेट गुमाएर १९८ रन बनाएको थियो । नरपथगन्जका अविसेक पाण्डे र विजय भारतीले अर्धशतकीय ईङनिङ खेले । अविसेकले २० बलमा ५९ रन बनाए भने विजय भारतीले ५५ रनको योगदान दिए ।
विराटनगरका अरुण एरीले ह्याट्रिक गर्दै सर्वाधिक ४ विकेट लिए । भुलावन सनीले ३ विकेट लिदा मन्जिल श्रेष्ठले १ विकेट लिए ।
खेलको म्यान अफ द म्याच नरपथगन्जका रवण कुमार घोषित भए ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ पाउँनेछन् । उपबिजेतालाई ५१ हजार रुपैयाँ रहेको मिल्स क्रिकेट क्लबका कोषाध्यक्ष अमर सिंहले जानकारी दिए ।

टिप्पणी लेख्नुहोस्