मिल्स टि– २० क्रिकेट : दिल्ली र काठमाण्डौं क्रिकेट क्लब विजयी
विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको मिल्स टि– २० क्रिकेट प्रतियोगितामा दिल्ली युनाईटेड क्रिकेट क्लब र ओसिस काठमाण्डौ क्रिकेट क्लबले विजय सुरूवात गरेको छ ।
विराटनगर जुट मिल खेलमैदानमा सोमबार भएको पहिलो खेलमा विरगन्ज युथ क्रिकेट क्लबलाई १ सय २३ रनको फराकिलो अन्तरले पराजित गर्दै दिल्ली दोस्रो चरणमा प्रवेश गरेको छ ।
दिल्लीले दिएको २ सय १८ रनको विशाल लक्ष्य पछ्याएको विरगन्ज १२.५ ओभरमा अलआउट भएर ९४ रनमात्रै बनायो । विरगन्जका लागि हसिम अन्सारीले सर्वाधिक २९ रन बनाए । शंकर साह १३ र सुमन सुनवारले १२ रन बनाए । दिल्लीका लागि खेलको प्लेयर अफ द म्याच भएका मोहित पाण्डेले सर्वाधिक ५ विकेट लिए । अंकित रोय ३ र बैवप पालले २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । टोलीका लागि रन्जित सिंहले ३७ बलमा ६३ रनको अर्धशतकीय ईनिङ खेले । अभिरुप गुप्ता र रोहित त्रिपाठीले समान ४९–४९ रन बनाए । विरगन्जका लागि रामनरेश गिरी, दिपेश श्रेष्ठ र हरि शंकर साहले समान २–२ विकेट लिए ।
सोमबार भएको दोस्रो खेलमा बजाज युथ क्रिकेट क्लब सप्तरी–११ लाई ५ विकेटले हराउँदै ओसिस काठमाण्डौ क्रिकेट क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सप्तरीले दिएको १२९ रनको विजय लक्ष्य काठमाण्डौंले १५.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । काठमाण्डौंका लागि सम्राट भुसालले अविजित ३६ रनको योगदान दिए । सुजन थपलियाले २४ र आदिल खानले १९ रन बनाए । सप्तरीका लागि अनिल यादव, अभिषेक कार्की र पप्पु यादवले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो । टोलीका लागि अमित यादवले सर्वाधिक २७ रन बनाए । अनिल यादव २३ र पप्पु यादवले २२ रन बनाए । काठमाण्डौंका लागि गौतम केसीले सर्वाधिक ३ विकेट लिए । आदिल खान २ र सुमित श्रेष्ठले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच काठमाण्डौंका गौतम केसी भए ।
प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेल घरेलु टिम मिल्स क्रिकेट क्लब विराटनगर रानी र दिल्ली युनाइटेड क्रिकेट क्लब बिच हुनेछ । सोही दिन हुने दोस्रो खेलमा बैशाली क्रिकेट क्लब पटना र नरपथगन्ज क्रिकेट क्लब बिहार भिड्ने छ ।

टिप्पणी लेख्नुहोस्