मेस्सीपछि पीएसजीका अर्का स्टार एम्बाप्पे पनि टोलीबाट बाहिरिने
काठमाडौंँ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अर्जेन्टिनाका लियोनल मेस्सीलाई क्लबबाट बिदाइ गरेपछि अब उनका कप्तान तथा फ्रान्सका युवा स्टार केलियन एम्बाप्पेले पनि टोलीबाट बाहिरिने भएका छन् । एम्बाप्पेले सन् २०२४ को जुनपछि पिएसजीसंग आफ्नो सम्झौता लम्ब्याउन नचाहेको बताएका छन् ।
एमबाप्पेले सन् २०२२ मा पीएसजीसँग नयाँ सम्झौता गरेका थिए । उनले सन् २०२५ सम्म टोलीसँग रहने वाचा गरेका थिए । एमबाप्पे र पीएसजीबीच भएको सम्झौता अनुसार एमबाप्पे सन् २०२४ सम्म क्लबको खेलाडी रहनेछन् । जुन २०१४ पछि उनले एक वर्षको लागि आफ्नो सम्झौता लम्ब्याउन पाउनेछन्। तर एम्बाप्पेले एक वर्ष अगाडि नै क्लबलाई पत्र लेखेर जुन २०२४ पछि सम्झौता अघि नबढाउने बताएका छन ।
एमबाप्पेको यो निर्णयबाट सम्झौता लम्ब्याउन चाहेको पीएसजी आक्रोशित भएको छ । क्लबले असन्तुष्टि जनाउदै एमबाप्पेले क्लब छाड्न चाहेमा उनलाई यसै वर्षको जुनपछि बेच्ने निर्णय गरेको छ । क्लबले एमबाप्पेलाई अर्को वर्ष फ्री एजेन्टको रूपमा छोड्न नचाहेको जनाएको छ ।
यदि एमबाप्पेले अर्को वर्षको जुनमा आफ्नो सम्झौता पूरा गरे भने उनी निःशुल्क एजेन्ट बन्नेछन् । उनलाई किन्न कुनै पनि टोलीले पीएसजीलाई पैसा तिर्नुपर्ने छैन । यसरी पीएसजीले नोक्सान भोग्नुपर्नेछ । त्यसकारण पीएसजीले एमबाप्पेलाई बेच्ने निर्णय गरेको छ ।
यी सम्पूर्ण कुराहरु मिडियामा आएपछि एम्बाप्पेले आफ्नो बयान जारी गर्दै भनेका छन, ‘मैले पीएसजीसँग सम्झौता लम्ब्याउनेबारे कहिल्यै कुरा गरिनँ । बोर्डलाई १५ जुलाई २०२२ देखि थाहा छ कि म २०२४ भन्दा माथिको सम्झौता विस्तार गर्न चाहन्न। मैले पठाएको पत्र मैले उनीहरुलाई पहिले नै भनेको कुरा पुष्टि गर्नको लागि मात्र हो।'
यदि एमबाप्पे आफ्नो कुरामा कायमै रहेको खण्डमा पीएसजीले उनलाई यसै वर्षको जुनपछि बेच्नेछ । यस्तो अवस्थामा धेरै क्लब एमबाप्पेलाई किन्न चाहन्छन् । जसमा रियल मड्रिड सबैभन्दा अगाडि रहेको छ । एम्बाप्पे धेरै वर्ष अगाडीदेखि स्पेनिस क्लबबाट खेल्न चाहन्थे। उनी बाल्यकालदेखि नै रियल म्याड्रिड जान चाहन्थे तर कुनै न कुनै कारणले अहिलेसम्म त्यो सम्भव भएको छैन । पीएसजीले बेचेको खण्डमा रियल मड्रिडले एमबाप्पेलाई कुनै पनि हालतमा किन्न चाहन्छ ।

टिप्पणी लेख्नुहोस्